मकवानपुर– आन्तरिक राजस्व कार्यालय मकवानपुरले आर्थिक वर्ष २०७६÷७७ मा ४ अर्ब ६८ करोड ७२ लाख ८० हजार राजस्व असुली गरेको छ । यो आर्थिक वर्ष २०७४÷७५ को तुलनामा करिब १० प्रतिशतले वृद्धि भएको हो ।
आर्थिक वर्ष २०७४÷७५ मा ४ अर्ब २२ करोड ४३ लाख ४८ हजार राजस्व असुली गरेको आन्तरिक राजश्व कार्यालय मकवानपुरका प्रमुख अधिकृत सन्तबहादुर ढकालले बताए ।
कार्यालयका अनुसार संकलित राजस्वमध्ये अन्तः शुल्कतर्फ २ अर्ब ५२ करोड १६ लाख १० हजार, मूल्य अभिवृद्धि करतर्फ १ अर्ब दुई करोड ९५ लाख ६६ हजार र आयकरतर्फ ८९ करोड ६० लाख ६८ हजार छ ।
त्यसैगरी, सो कार्यालयको वार्षिक राजश्व असुली गर्ने लक्ष्यअनुसार घरबहाल कर सम्बन्धमा प्रदेश सरकारको नयाँ नियमावलीअनुसार स्थानीय निकायले नै आफ्नो नगरको घर बहाल कर असुली गर्ने गरेकाले यस वर्षदेखि सरकारको राजस्व ढुकुटीमा संकलन नभएको सो कार्यालयको सूचना अधिकृत हरेराम ढकालले जानकारी दिए ।– रासस