काठमाडौँ । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सुरक्षाको कारण देखाउँदै प्रहरी कार्यालयमा लगिएको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले आपत्ति जनाएकी छन्।
उनले कसुर गरेको आधार देखिएमा कानुनअनुसार कारबाही गर्न सकिने भए पनि कुनै व्यक्तिमाथि अधिकार प्रयोग गर्दा आवश्यक कानुनी प्रक्रिया र प्रमाणलाई बेवास्ता गर्न नहुने बताएकी छन्। दर्शनाका अनुसार कानुनको शासनमा केवल आरोपका आधारमा कसैलाई दोषी मान्न मिल्दैन। कसुर पुष्टि हुने आधार र प्रमाण आवश्यक पर्ने उल्लेख गर्दै उनले राज्यका निकायले आफ्नो अधिकार प्रयोग गर्दा स्थापित विधि र प्रक्रियाको पालना गर्नुपर्ने धारणा राखेकी छन्।
उनले पूर्वप्रधानन्यायाधीश जबराको सुरक्षामा आवश्यक सतर्कता अपनाउनुपर्ने बताउँदै कुनै पनि समूह वा व्यक्तिबाट उनलाई धम्की आउन नसक्ने वातावरण बनाउन राज्य जिम्मेवार हुनुपर्ने बताएकी छन्। जबरालाई आइतबार दिउँसो टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट रिहा गरिएको थियो। उनलाई अघिल्लो रात महाराजगञ्जस्थित निवासबाट प्रहरी टोलीले नियन्त्रणमा लिएर टेकु लगेको थियो। प्रहरीले भने जबरालाई पक्राउ नगरिएको दाबी गर्दै सुरक्षाका कारण कार्यालयमा ल्याइएको जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनलाई कार्यालयबाट सुरक्षित स्थानमा लगेर छाडिएको थियो।