टीकापुर– बाढीले विस्थापित भजनीका पीडितले पाँच दिनपछि आइतबार खाना पाएका छन् । विस्थापितलाई सडकमै सामूहिक मेस सञ्चालन गरिएपछि पेटभरि खाना खाएका पीडित खेमराज पाण्डेले बताए ।
भजनी–८ को सोनाफाँटामा सामूहिक मेस सञ्चालन भएपछि ५०० ले खाना खाएका छन् । ईश्वर प्रेमी सेवा आश्रम जानकी गाउँपालिकाले बाढीपीडितको भोक मेटाउन पथरैया पुलमा सामूहिक मेस सञ्चालन गरेको हो ।
‘पाँच दिनपछि दालभात खान पाइयो, बल्ल पेट भरियो,’ पीडित सुन्ता विकले भनिन्, ‘जति आए चिउरा र चाउचाउ दिए, दालभात पनि खान पाइयो, पेट भरियो ।’
भजनी–८ कै सुरवी चौधरीको चार वर्षको छोराले पनि पेटभरि दालभात खाएको छ । ‘आमा भात खाने भनी सताउँथ्यो, बच्चाले अन्य खानेकुरा खाएर चित्त बुझाएकै थिएन,’ सुरवीले भनिन्, ‘आज बच्चाले धीत मारेर खाएको देख्दा झन् पीडा भएको छ । हाम्रो जिन्दगी यस्तो भोक र त्रासमा सडकमा बास भएको छ ।’ ईश्वरप्रेमी सेवा आश्रमका पीठाधीश ईश्वर चैतन्य महाराजले विपत्तिमा परेर भोक बस्न बाध्य भएका व्यक्तिलाई सहयोग गरेको बताए ।
भजनी नगरपालिकाले पनि पीडितलाई राहत वितरण सुरु गरेको छ । भजनी–३ ले राहत सामग्री वितरण थालेको छ । वडाले मन्त्रीफाँटा, सिमलटारी, नयाँबस्ती, डेली चितवन र बर्दुवाफाटामा गरी १२० परिवारलाई राहत बाँडेको वडाध्यक्ष विक्रम चौधरीले जानकारी दिए । उनले बाढी पीडितलाई त्रिपाल, चाउचाउ, भुजा, बिस्कुट, पानी, एक्वागार्डजस्ता अत्यावश्यक सामग्री वितरण गर्न थालेको बताए ।
नगरपालिकाले ८ नम्बर वडामा पनि राहत सामग्री वितरण सुरु गरेको छ । वडाको खैरागाउँका २६४ परिवारलाई त्रिपाल, चाउचाउ, भुजा, बिस्कुट र पानी वितरण गरिएको वडाध्यक्ष पङ्कज चौधरीले जानकारी दिए । ‘सडकमा बसेकालाई राहतमा खाद्यान्न दिन कठिन छ, उनीहरु घर फर्किएपछि राहत दिइनेछ,’ उनी भन्छन्, ‘अहिले अत्यावश्यक सामान दिन थालेका छौं । अझै विस्थापित घर फर्कने वातावरण छैन ।’
कैलालीको भजनी नगरपालिकाले बाढीमा परी मृत्यु भएका परिवारका आफन्तलाई किरियाखर्च उपलब्ध गराएको छ । अविरल वर्षापछि यही साउन १४ गते आएको बाढीमा परी मृत्यु भएका तीन जनाका परिवारलाई २५÷२५ हजार किरिया खर्च उपलब्ध गराइएको उपप्रमुख छाया देवकोटाले जानकारी दिइन् ।
बाढीमा मृत्यु भएका भजनी–८ जनकपुरका एजिकल चौधरी, काँढाढिकका ईश्वर शाह र चक्र विकका परिवारलाई सहयोग प्रदान गरिएको हो । ‘रकमसँगै आवश्यक खाद्यान्न र लत्ताकपडासमेत उपलब्ध गराएका छौं, सरकार दुःखमा पनि साथमा छ भन्ने आभास दिलाउन सहयोग गरेका हौं,’ उपप्रमुख देवकोटाले भनिन् ।