काठमाडौं– राष्ट्रिय युवा परिषद्को आयोजनामा यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रम गरी मनाइने भएको छ । ‘विश्व अभियानका लागि युवा सहभागिता : रोजगारी प्रवर्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने मूल नाराका साथ आगमाी साउन २८ गते देशभर दिवस मनाउने तयारी भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअलबाट उद्घाटन गर्ने कार्यक्रम रहेको परिषद्का कार्यकारी उपाध्यक्ष माधवप्रसाद ढुंगेलले बताए । दिवसका अवसरमा र्याली, अन्तरक्रिया, रक्तदान कार्यक्रम, नाटक, सरसफाइ, नीति संवाद, सांस्कृतिक कार्यक्रम, वृक्षरोपण, वक्तृत्वकला प्रतियोगिता, युवा प्रतिभा तथा उद्यमी सम्मान कार्यक्रम गरिने परिषद्का सूचना अधिकारी ध्रुवराज पौडेलले जानकारी दिए ।
नेपालमा युवा
राष्ट्रिय जनगणना २०६८ का अनुसार नेपालमा कुल जनसंख्यामध्ये ४०.३ प्रतिशत युवा छन् । नेपालमा युवा साक्षरता ७१ प्रतिशत, युवा स्वरोजगारको अवस्था ५८.८ प्रतिशत, कृषिमा संलग्न युवा ५०.५ प्रतिशत, बेरोजगार स्नातक युवा २६.१ प्रतिशत छन् । प्रतिवर्ष ५ लाख १५ हजार युवा श्रम बजारमा प्रवेश गर्छन् ।
दिवस इतिहास
संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ (साउन २८)लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सोही घोषणासँगै युवासम्बन्धी विभिन्न चेतनामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरी सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवस मनाउन थालिएको हो ।
नेपालमा भने सन् २००४ देखि युवाका क्षेत्रमा काम गर्ने विभिन्न गैरसरकारी संस्थाको आयोजनामा कार्यक्रम मनाउन थालिएको हो । दिवसमा अवसरमा युवाका क्षेत्रमा काम गरेका विभिन्न व्यक्तिलाई सम्मान समेत गरिने परिषद्का सूचना अधिकारी पौडेलले जानकारी दिए ।