काठमाडौं– नेपाली कांग्रेसमा सभापतिबाट एकलौटी रुपमा केन्द्रीय विभाग र निकायहरुमा गरिएको मनोनयनको विरोध भएको छ । नेता रामचन्द्र पौडेल समूहले मनोनयनको विरोध गर्दै सभापति शेरबहादुर देउवालाई आज सामूहिक रुपमा लिखित असहमति बुझाउने भएको छ ।
बुधबार पौडेल पक्षको बैठकले लिखित असहमित जनाउने निर्णय गर्दै त्यहीँबाट सभापति देउवासँग समय मागेको थियो । देउवाले बिहीबार बिहान साढे १० बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाएका थिए ।
देउवालाई भेट्न अहिले पौडल पक्ष पार्टी केन्द्रीय कार्यालय सानेपामा जम्मा भइसकेको छ । सानेपामा पौडेलका तर्फबाट महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरु रामशरण महत, अर्जुनरसिंह केसी, मिनेन्द्र रिजाल, चन्द्र भण्डारीलगायतका नेताहरु उपस्थित छन् ।
उता देउवाले आफ्नो पक्षबाट उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशरण महत, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, बालकृष्ण खाँण, एनपी सावदलगायतका नेताहरुलाई बोलाएका छन् ।
यसअघि पनि पौडेल पक्षले लिखित रुपमा सभापति देउवाको ध्यानाकर्षण गराएको थियो । देउवाले मनोनयनहरु रोक्ने विश्वास नदिए पौडेल पक्षले आजै अपराह्न पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । महाधिवेशनको कार्यतालिका सार्वजनिक भएपछि महाधिवेशनलाई प्रभावित पार्ने गरी भएको मनोनयन रोक्न पौडेल पक्षले माग गर्दै आएको छ ।