दुई वर्षअघि पार्टी एकता गर्दा जेट विमान हाँकेको दाबी गर्ने नेताहरु गन्तव्यमा नपुग्दै ‘फोर्स ल्यान्डिङ’ गर्नुपर्ने वा दुर्घटनामा पर्ने अवस्थामा आइपुगेका छन्। उनीहरु सवार डुंगा पद, सत्ता, शक्ति र स्वार्थले प्वाल पारिरहेको छ।
दुर्गा खनाल, बिनु सुवेदी
सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्षी कांग्रेसको बुधबार साँझ आ–आफ्ना पार्टी बैठक बसे। दुवै बैठकका दृश्य अन्य दिनभन्दा भिन्न थिए। कांग्रेसभित्र ‘प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा’ माग्नुहुन्छ वा हुन्न भन्ने विवाद नेताहरुबीच चलिरहेको थियो।
ठीक त्यही बेला उता बालुवाटारमा भने सत्तारूढ दलकै शीर्ष नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागिरहेका थिए। प्रमुख विपक्षी दलले समेत सिधा राजीनामा माग्न नसकिरहेको बेलामा नेकपाभित्र चाहिँ आफ्नै प्रधानमन्त्रीलाई पद छाड्न भन्नुपर्ने परिस्थिति किन आयो यसका पछाडि नेकपा नेताहरु– प्रधानमन्त्री ओली, पार्टी अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमका स्वार्थ एवं सम्बन्धका शृंखलाबद्ध पहेंली केलाउनुपर्ने हुन्छ।
खासमा नेकपा–विवादका पाँच पात्र यिनै हुन्, जो झन्डै एक वर्षदेखि भित्रभित्रै भइरहेको ‘रिहर्सल’ अहिले मैदानमा उत्रेर खेल्दै छन् । विधि, पद्धति, राजनीतिक इमान, नैतिकताको कुरा ओलीको राजीनामा प्रकरणमा उठेको छ। तर सबै नेताहरुको विगत हेर्दा को–कति पानीमा छन् भन्ने छर्लङ हुन्छ । अहिलेको विवाद कसरी उत्कर्समा पुग्यो भन्ने केलाउन पछिल्लो १२ महिनाका केही महत्त्वपूर्ण मोडतर्फ फर्कनुपर्ने हुन्छ।
२०७६ जेठ स् तत्कालीन एमाले र माओवादीबीच पार्टी एकीकरण भएको एक वर्ष पुगे तापनि पोहोर जेठमै नेकपाभित्र आन्तरिक संघर्ष चर्किसकेको थियो। पार्टीको सिद्धान्त जनताको जनवाद या बहुदलीय जनवाद हुने भन्नेमा मुख्यतस् पूर्वएमालेका ओली पक्ष र पूर्वमाओवादीबीच मतभेद थियो। त्यही मतभेदकै बीचमा अध्यक्ष पुष्पकमल दाहालले आफू र प्रधानमन्त्रीबीच आधा–आधा समय सरकार सञ्चालन गर्ने सहमति भएको जेठ १५ गते सार्वजनिक गरिदिए।
यससँगै सरकारको आयुबारे अड्कलबाजी हुन थाल्यो, ओली–दाहाल सम्बन्ध पनि चिसिँदै गयो । तीन महिनामा सक्ने भनिएको पार्टी एकीकरण प्रक्रिया ठप्पजस्तै भयो। सरकार एकलौटी चलाइरहेका ओलीले पार्टीसमेत आफ्नै मर्जीमा हाँक्न थालेपछि दाहालले आफ्नो हैसियत र भूमिका के हुन्छ भनेर ओलीलाई बारम्बार सोधिरहन्थे, जुन प्रश्न उनले बुधबारको पार्टी सचिवालय बैठकमा पनि दोहोर्याए। पार्टी एकीकरण भएयता दुई वर्षको अवधिमा दाहाल सचिवालय बैठकमा त्यति आक्रोशित रूपमा प्रस्तुत भएको आफूले पहिलोपटक देखेको उपस्थित एक नेताले बताए।
वरिष्ठ नेता नेपाल पनि प्रधानमन्त्री ओलीको कार्यशैलीबाट असन्तुष्ट थिए। त्यसताका आफूलाई एक्ल्याइएको ठान्दै नेपालले धेरैपटक पार्टीका सार्वजनिक कार्यक्रमसमेत छाडेर हिँडे । यद्यपि उनीमाथि आफूअनुकूल हुँदा चुपचाप बस्ने र प्रतिकूलतामा मात्रै विरोध गर्ने गरेको आक्षेप नलागेको होइन।
असार स् असार १ गते युरोप भ्रमणबाट फर्किएकै साँझ प्रधानमन्त्री ओलीले नेता नेपालसित लामो भलाकुसारी गरेर सरकारले गरेको काममा विरोध गरेको भन्दै दुस्ख पोखेका थिए । त्यतिखेर नेपालले सरकारको काम एकलौटी गरेर बिगारेको भन्दै प्रधानमन्त्रीलाई सच्चिन सुझाव दिए । त्यो बेला नेपाल बीचमा थिए, ओली र दाहालबीच संवादहीनता बढिरहेको थियो। दिनदिनैजसो भेट्ने र छलफल गर्ने गरेका दाहाल–ओलीबीच जेठ २५ पछि एकैपटक असार ४ मा छोटो कुराकानीमात्र भयो । असार ११ र १२ गतेको छलफलमा उनीहरुबीच मतभेद उत्कर्समा पुगेजस्तो देखिन्थ्यो । त्यो बेला दाहालले आफ्ना निकटस्थहरुसँग भनेका थिए, ‘अब त सकिन्न कि के हो ।’
दुई अध्यक्षबीचको शक्ति संघर्षले पार्टी सचिवालय बैठकसमेत असार ७ पछि एकैचोटि साउन ५ गते बसेको थियो । अध्यक्षद्वयले त्यो अवधिभरिमा मनको मैलो पखाल्न १५ चोटि भेटेको सार्वजनिक जानकारीमा आयो । त्यतिखेर दाहालले ओली र नेपालसँग समानान्तर रूपमै भेट्ने र छलफल गर्ने गरिरहेका थिए । ओली र नेपालले पनि दाहाललाई उपयोग गर्न चाहिरहेजस्तो देखिन्थ्यो ।
त्यो बेलाको अर्को संघर्ष राजनीतिक दस्तावेजलाई लिएर चलेको थियो । पार्टीको सिद्धान्त ‘जनताको जनवाद’ हुने भनेर माधवकुमार नेपाल नेतृत्वको कार्यदलले तयार पारेको र सचिवालयले पारित गरेको प्रतिवेदन सार्वजनिक गर्न ओलीले आनाकानी गरेको आरोप दाहालले लगाइरहेका थिए। त्यो पृष्ठभूमिमा दाहाल र नेपालबीच अब ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्षका रूपमा स्वीकार्न सकिन्न भन्ने निचोड निस्किएको थियो । त्यो थाहा पाएको बालुवाटार भने बारम्बार झस्किरहन्थ्यो । त्यही बेला प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार विष्णु रिमालले एउटा विवादास्पद ट्वीट गरेका थिए, ‘भनिन्छ, छौंडाहरु आफैँ चल्मलाउँदैनन्, कसैले छोड्छन् । दुस्ख दिन्छन् । यी छौंडाहरु आफैं चल्मलाएका हुन् कि कसैले छाडेका।’
रिमालको यो विम्बात्मक ट्वीट त्यसबेला आएको थियो, जुन बेला दाहाल र नेपालबीच ओलीको विकल्प खोज्ने छलफल चलिरहेको थियो ।
साउन स् साउनको सुरुवाती दिनमा दाहाल र नेपालले ओली–सत्ता ढालेर एकजना प्रधानमन्त्री र अर्काचाहिँ पार्टी अध्यक्ष बन्ने गोप्य सहमति गरे। यसबारे सुइँको पाएका प्रधानमन्त्री ओलीले राजनीति यसरी खेले कि सहमतिको पासा पूरै उल्टियो। उनले आफूविरुद्ध लागेका नेताहरुलाई फकाउने क्रम वामदेव गौतमबाट सुरु गरे, जसरी अहिले पनि गरिरहेको देखिन्छ।
ओलीले असार २६ गते गौतमलाई बालुवाटार बोलाएर केक काट्दै उनको जन्मदिन मनाइदिए । त्यही दिन गौतमलाई पार्टी उपाध्यक्ष, संगठन विभाग प्रमुख र भावी प्रधानमन्त्रीका रूपमा पनि प्रस्ताव गरे । बालुवाटारको हाल पुनर्निर्माण चलिरहेको भवनको कार्यकक्षमा बसेर आफ्नो फोटोतिर देखाउँदै ओलीले गौतमलाई भनेका थिए, ‘तपाईंलाई पनि भित्तामा यसैगरी फोटो झुन्ड्याउने मन छैन रु प्रधानमन्त्री बनाउने जिम्मा मेरो भयो, मलाई सहयोग गर्नुस् ।’
ओलीले त्यतिखेर गौतमलाई कास्की–२ बाट चुनावमा उठाउने र प्रधानमन्त्री बनाउने आश्वासन दिएका थिए । दंग परेका गौतमले दाहाल क्याम्प छाडे, उनको आउजाउ खुमलटारभन्दा धेरै बालुवाटारतिर हुन थाल्यो । गौतमबाट खेल सुरु गरेका ओलीले क्रमशस् दाहाल र झलनाथ खनाललाई पनि आफ्नो पक्षमा पारे। खनाललाई वरियता बढाएर माधवकुमार नेपालभन्दा माथि उकाल्ने आश्वासन दिए, दाहाललाई कार्यकारी अध्यक्ष बनाउँछु भने। यति चाँजोपाँजो मिलाएर ओली उपचारका लागि सिंगापुर गए । त्यति नै बेला गौतमले पनि जनताको बहुदलीय जनवादको पक्षमा लामो लेख लेखेर आफू ओली क्याम्पमा पुगिसकेको जनाउ दिए । त्यसबेला धोका पाए माधव नेपालले ।
भदौ स् भदौ १ गते बसेको नेकपा सचिवालय बैठकले वरियतामा माधव नेपाललाई झलनाथ खनालभन्दा तल झार्यो । गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गर्यो, सैद्धान्तिक बहसमा दाहालभन्दा विल्कुल फरक धार बोक्ने ईश्वर पोखरेललाई स्कुल विभाग प्रमुख बनाइयो । यससँगै दाहाल र नेपालमध्ये एकजना प्रधानमन्त्री, अर्का अध्यक्ष हुने गोप्य सहमति अर्थहीन बन्न पुग्यो। दाहालले आफूलाई धोका दिएको नेपालले ठाने ।
असर भदौ ५ को सचिवालय बैठकमा देखियो । त्यसैदिन दोस्रोपटक उपचारका लागि सिंगापुर जान लागेका प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना गर्दा नेपालले ओलीबाट नमीठो जवाफ पाए । ‘तपाईंले मेरो मृत्युको कामना गरिरहनुभएको छ, तपाईंले दिएको शुभकामना चाहिँदैन,’ ओलीले नेपालसँग भनेका थिए । त्यसपछि ओली र नेपालबीच तिक्ततापूर्ण सम्बन्धको सिलसिला लामो कालसम्म चल्यो, नेपाल बालुवाटार फर्केर गएनन्।
कात्तिक स् प्रधानमन्त्री ओलीले दाहाललाई कार्यकारी अध्यक्ष बनाउने वचन त दिएका थिए तर उनको मनले मानिरहेको थिएन । त्यसैले फेरि दाहालविरुद्ध गोटी चाल्न थाले । त्यसका लागि नेपाल र गौतमलाई हातमा लिनुपर्ने हुन्थ्यो । तर बिरामी भएका बेलासमेत ओलीले आफ्नो शुभकामनासमेत नलिएपछि बिरक्तिएका नेपाल बालुवाटार जानै अनकनाउँथे । कात्तिक २६ गते अचानक उनलाई प्रधानमन्त्रीले डाके।
झन्डै अढाइ महिनापछि बालुवाटारको दैलो टेकेका नेता नेपालले झन्डै ५ घण्टा प्रधानमन्त्रीसँग भलाकुसारी गरे । त्यही भेटमा प्रधानमन्त्रीले उनलाई भारतीय पक्षले अतिक्रमण गरेको नेपाली भूमिबारे वार्ता गर्न विशेषदूत बनेर दिल्ली जान प्रस्ताव गरे । नेपालले पनि त्यसैअनुसार अध्ययन र भेटघाट गर्न थाले । त्यति नै बेला ओलीले गौतमलाई राष्ट्रियसभा सदस्य बन्न प्रस्ताव गरेर उनी र नेपाललाई आफूतिर तान्ने तर दाहाललाई कार्यकारी अध्यक्षको भूमिका नदिने प्रयास थाले । त्यतिखेर भने उनी सफल भएनन् ।
मंसिर स् मंसिर ४ को नेकपा सचिवालय बैठकले दाहाललाई दल र ओलीलाई सरकारको भागबण्डा गर्यो । ओलीसँग सहमति भएको ५ महिनापछि दाहाल पार्टीको कार्यकारी प्रमुख भए । त्यतिखेर कान्तिपुरसँगको कुराकानीमा दाहालले भनेका थिए, ‘मलाई बल्ल कार्यकारी अध्यक्ष भएको फिलिङ आएको छ ।’
मंसिर १० गते मध्यराति प्रधानमन्त्री बिरामी परे, १० दिन अस्पतालमै बसे । कार्यकारी अध्यक्ष भएपछि दाहालले मंसिर २३ गते पहिलोपटक आफ्नो एकल अध्यक्षतामा पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक डाके भने ओलीले त्यही दिन बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाए । त्यो दिनले दुई अध्यक्षहरुले आ–आफ्ना मोर्चा सम्हालिरहेका छन् भनेर स्पष्ट सन्देश दिएको थियो ।
दाहालले मंसिर २९ देखिको पार्टी स्थायी कमिटी बैठक पनि एकल अध्यक्षतामा सञ्चालन गरे । तर त्यो आत्मीयता धेरै टिकेन, सभामुख पदबाट कृष्णबहादुर महराको बहिर्गमनपछि नयाँ सभामुख कसलाई बनाउने भन्नेमा उनीहरुबीच फेरि रस्साकस्सी चल्यो । ‘एमसीसी’ प्रकरणले पनि दाहाल र ओलीलाई दुई किनारामा विभाजित गर्यो । गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने या नबनाउने भन्ने अर्को प्रकरण नेकपामा थपियो ।
पुस स् कसै गरे पनि कुरा नमिलेपछि पुस २३ गते भैंसेपाटी गठबन्धन जन्मियो । वामदेव गौतम निवासमा भएको भेलामा गौतमलाई राष्ट्रियसभा सदस्य चयन गरेर प्रधानमन्त्री बनाउने, त्यसका लागि संविधान संशोधन गर्ने, सभामुख पद पूर्वमाओवादी पक्षलाई दिने र यथास्थितिमा एमसीसी पारित नगर्ने निष्कर्षमा मुख्य नेताहरु पुगे । त्यहीबमोजिम अग्निप्रसाद सापकोटा सभामुख चुनिए। यता प्रधानमन्त्री ओली भने भैंसेपाटी गठबन्धनबाट निकै चिढिए । त्यसलाई उनले आफूविरुद्ध घेराबन्दी भएको रूपमा बुझे। तर सभामुखका सम्बन्धमा भैंसेपाटी सहमतिबाट नेताहरु नहच्किने देखेपछि सापकोटालाई सभामुख बनाउन ओली बाध्यतावश राजी भए ।
माघ–फागुन स् नेकपाको माघ महिना केन्द्रीय कमिटी बैठकवरिपरि केन्द्रित भयो । पार्टी एकतापछि पहिलोपटक बसेको विशाल आकारको केन्द्रीय कमिटी बैठकमा नेताहरु फरकफरक कित्तामा विभाजित भए । दाहाल र नेपाल पक्षका नेताहरुले ओली सरकारको आलोचना गरे ।
भैंसेपाटी गठबन्धनको निर्णयअनुरूप फागुन १० को सचिवालय बैठकले राष्ट्रियसभा सदस्यलाई पनि प्रधानमन्त्रीको ढोका खोल्न सकिने गरी संविधान संशोधनका लागि कार्यदल बनाउने र त्यसको नेतृत्व माधवकुमार नेपाललाई दिने निर्णय गर्यो । नेपालले काम थालिसकेका थिए, तर सचिवालयभित्रै मतभेद भएपछि कार्यदल बनाउने निर्णय फिर्ता भयो ।
सँगै गौतमलाई राष्ट्रियसभा सदस्य बनाउने सचिवालयको निर्णय पनि ओलीले मान्दिनँ भनेपछि गौतमका नाममा पार्टीभित्र फेरि बबन्डर सुरु भयो । बालुवाटारसँग गौतमको सम्बन्ध चिसियो । पार्टीभित्रका यी सबै रस्साकस्सीलाई थाती राखेर प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना भए । उनी ‘डिस्चार्ज’ हुने बेलासम्ममा मुलुकलाई राजनीतिक रस्साकस्सीभन्दा कोरोनाको कहरले थिचिसकेको थियो ।
चैत स् चैत महिनाभरि सरकार र पार्टी कोरोना कहरकै वरिपरि रुमल्लिए । तर अध्यक्ष दाहालले जब कोरोनाविरुद्ध लड्न ‘उच्चस्तरीय राजनीतिक संयन्त्र बनाऔं’ भन्ने प्रस्ताव गरे, प्रधानमन्त्री ओली निकै चिढिए । आफ्नै सरकारले गरिरहेको काममा विपक्षीलाई पनि घुसाएर दाहालले आफ्नो भूमिका बढाउन चाहेको रूपमा ओलीले त्यसलाई लिए । र, सरकारी सञ्चारमाध्यममा अन्तरवार्ता दिँदै केही व्यक्तिको ‘कुण्ठा’ भनिदिए ।
त्यसअघि राष्ट्रिय सम्पत्ति यति समूहलाई सुम्पिएका निर्णयहरु प्रकाशमा आएपछि विवादित बनेको सरकार स्वास्थ्य सामग्री खरिद प्रकरणको अनियमितताबाट थप प्रश्नको घेरामा पर्यो । ‘लकडाउन’ को मारमा परेका सर्वसाधारणका दुस्खलाई सम्बोधन गर्नभन्दा सरकार यसको म्याद थपिरहन तत्पर देखियो । प्रधानमन्त्री ओलीका अभिव्यक्तिमा देखिएको अहंकारलाई दाहाल र नेपाल पक्षले पनि आलोचना गर्न थाले ।
२०७७ वैशाख स् वैशाख ८ गते सरकारले अचानक दुइटा विवादास्पद अध्यादेश ल्याएपछि नेकपामा भित्रभित्रै सल्किरहेको भुसको आगोले एकैपटक ज्वालाको रूप लियो । कोरोनाका कारण जनमानस आतंकित र समस्यामा परेका बेला सरकारले राजनीतिक दल सहजै फुटाउन सकिने असान्दर्भिक अध्यादेश ल्याइएको थियो । त्यसबारे पार्टीका अन्य नेता बेखबर थिए ।
यही अध्यादेशका कारण समाजवादी दल फुटाउन नेकपाकै सांसद प्रयोग भए । अपहरणकै आरोप लाग्यो । अध्यादेशको भित्री उद्देश्य ओलीले आफूमाथि संकट आए कुन हदसम्म जान सक्छु भन्ने संकेत दिनु पनि थियो । यो प्रकरणमा उनले स्वेच्छाचारिताको हद नाघेको विश्लेषण असन्तुष्ट समूहले गर्यो । त्यहींबाट ओलीको राजीनामा माग्ने तहसम्म दाहाल–नेपाल पक्ष पुग्यो ।
को–कति पानीमा र?
माथि उल्लिखित घटनाक्रमलाई एक ठाउँमा राखेर केलाउने हो भने नेकपाका पाँच मुख्य नेताहरु को–कति पानीमा छन् भन्ने स्पष्ट हुन्छ । क्रमैसँग हेर्दा वर्ष दिनयता उनीहरुको तुष र स्वार्थ केका लागि कसरी टकराइरहेको छ भन्ने पनि प्रस्ट हुन्छ ।
केपी शर्मा ओली स् प्रधानमन्त्री ओलीलाई २०७४ सालको चुनावमा वाम गठबन्धनले झन्डै दुई तिहाइ ल्याएदेखि नै आफूलाई हेरेरै जनताले मत दिएको अहं छ । त्यसैले उनी सरकारको नेतृत्व सम्हालेदेखि नै आफ्नो योजनाअनुसार मात्र अघि बढ्न खोजे ।
त्यसअन्तर्गत सुरुमा उनले अध्यक्ष दाहाललाई साथमा लिन खोजे, नेपाललाई किनारामा पुर्याउन चाहे । जब कि पूर्वएमालेको महाधिवेशनमा पराजित भए पनि नेपालले ओलीकै हाराहारीमा मत ल्याएका थिए । सम्भवतस् त्यो कुरालाई ओलीले ख्याल गरेनन् । बरु नेपाल झन्डै १५ वर्ष पार्टी महासचिव हुँदा आफू छायामा परेको कुरा उनको मनमा गढिरहेको थियो ।
दाहाल र पूरै माओवादी खेमालाई त ओलीले कहिल्यै रुचाएनन् । पार्टी एकता पनि एमालेभन्दा माओवादीको आवश्यकताले भएको उनको बुझाइ छ । त्यसैले उनले आफूलाई एक नम्बर ठाने, दाहाललाई दुई नम्बरी । ओली सत्तामा पुगेर पनि आफ्नो खेमाको सानो घेराभित्र रहेर चलेको आरोप लाग्यो । त्यही भएर अहिले संकट आउँदा पनि उनको प्रतिरक्षार्थ थोरै नेतामात्र उभिएको देखिन्छ ।
आफ्नै कमजोरीका कारण ओली संकटको व्यूहमा फसेजस्तो देखिन्छ । तर उनीनिकट नेताहरु यो स्विकार्न तयार छैनन् । ‘उहाँ मुलुकलाई केही गरौं भन्ने आँट भएको र गरिरहनुभएको नेता हो । उहाँ रहँदा आफ्नो भविष्य सकिन्छ कि भन्ने अरूलाई लागिरहेको छ,’ केन्द्रीय सदस्य विशाल भट्टराईले भने, ‘स्थिरताका लागि भन्दै भोट मागेर जितेर आएको पार्टीका नेतालाई राजीनामा माग्ने खेल भएको छ । यो गलत हो ।’
पुष्पकमल दाहाल स् अहिले ओलीको राजीनामा माग्ने अग्रपंक्तिमा देखिएका छन् दाहाल । तर ओलीलाई यो अवस्थामा पुग्ने वातावरण सिर्जना गर्नुमा उनको पनि हात छ । जुन बेला मन्त्रीहरुको कार्यसम्पादनमाथि प्रश्न उठ्यो, औसत काम गर्ने केही मन्त्री ओलीले निकाले । औसत तलका मन्त्रीहरु मन्त्रिपरिषद्मा कायम रहे । त्यस बेला दाहाल बोलेनन्, किनभने उनका परिवारका मान्छेसमेत मन्त्रिपरिषद्मा थिए ।
दाहालले पार्टी एकताका क्रममा गोप्य राख्ने भनिएको सहमतिको पनि खुलासा गरिदिए । साढे २ वर्षपछि सरकार परिवर्तन हुने सहमति रहेको कुरा दाहालले सरकार गठन भएको एक वर्षमै सार्वजनिक रूपमा भनिदिए र आफैंलाई भावी प्रधानमन्त्रीको रूपमा प्रस्तुत गरे, जुन कुरा ओलीलाई मन परेन । सहमति नै भएको थियो भने पनि किन बाहिर भन्दै हिड्नुपर्यो भन्ने ओलीको मुख्य गुनासो थियो ।
दाहाल कार्यकारी अध्यक्ष पाएकोमा कुनै बेला खुसी थिए, तर ओलीले त्यो भूमिका पनि खुम्चाउन खोजेपछि मात्र उनी झसंग भए । यसबाट उनलाई अवसरवादी भन्ने आरोप पनि लाग्यो । तर दाहालसमर्थकहरु उनलाई समयको चापअनुसार हिँड्ने गतिशील नेता भन्छन् । ‘प्रचण्ड गतिशील नेता हो । ठोस परिस्थितिको ठोस विश्लेषण गर्न सक्नुहुन्छ । युद्ध र शान्तिलाई समायोजन गरेर अगाडि बढ्न सक्ने नेता पनि हो,’ नेकपा नेतृ कमला रोका भन्छिन्, ‘धेरै विश्वास गर्ने र लचिलो हुने बानी हुँदा भित्तामा पुर्याएको थाहा पाउनुहुन्न ।’
माधवकुमार नेपाल स् वरिष्ठ नेता नेपाल ओलीका सुरुदेखि नै आलोचक हुन् । पार्टी एकता भएदेखि नै ओलीसँग सबभन्दा बढ्ता असन्तुष्ट हुने नेता उनै हुन् । पार्टीका निर्णयहरुमाथि उनले ‘नोट अफ डिसेन्ट’ समेत लेखेका छन् । तर उनी आफ्नो स्वार्थअनुसार हुँदा चुप बस्छन्, प्रतिकूल हुँदामात्र विरोधमा उत्रन्छन् भन्ने गरिन्छ । जस्तो पार्टी एकताका क्रममा नेपालको वरियताक्रम तेस्रोमा राखियो । जब पूर्वएमालेमा नेपालभन्दा झलनाथ खनालको वरियता माथि थियो । खनालको वरियता घटाउँदा उनी चुप बसे । जब पछि आन्तरिक विवाद चुलिँदा खनालसँगको वरियता हेरफेर गरियो, त्यो बेला नेपाल रुष्ट बने ।
विवादास्पद युनिभर्सल पिस फेडरेसनको काठमाडौं सम्मेलनको विवादमा नेपालले ओलीलाई साथ दिए । आफ्नो पक्षका केही मन्त्री जिल्ला इन्चार्जहरु परेको बेला उनले खुसी प्रकट गरे । नेपालले विधि पद्धतिको कुरा त गरेका छन्, तर आफने अनुकूल निर्णय आउँदा चुप बस्ने, प्रतिकूल अवस्थामा मात्र बोल्ने गरेको इतिहास छ । यद्यपि उनीनिकट नेता ठाकुर गैरे अहिले नेपालले विधि पद्धतिका लागि अडान लिएको ठान्छन् । ‘तर हाम्रा समग्र सिनियर पुस्ताका नेताहरु विगतमा कसको के सम्बन्ध थियो भन्ने कुराले पनि कहिलेकाहीँ गाइडेड भएको देखिन्छ,’ उनले भने ।
झलनाथ खनाल स् पूर्वएमाले–कालदेखि नै खनाल ओलीका आलोचक हुन् । महाधिवेशनपछि उनको समूहका धेरै नेता माधवकुमार नेपाल पक्षमा लागेपछि उनको समर्थक पंक्ति खासै ठूलो छैन । तर केन्द्रीय सचिवालयमा भएकाले उनको पनि शक्ति छ । उनलाई सबभन्दा ठूलो आक्रोश आफूलाई राष्ट्रपति नबनाएको भन्नेमा छ भनिन्छ ।
राष्ट्रपतिको आश्वासन पाएर पनि पछि विद्यादेवी भण्डारीलाई अघि सारेपछि खनाल पार्टीमा असन्तुष्ट थिए । पछि उनको वरियता पनि तल झारेपछि झनै रिसाए । जब सचिवालयको गठजोडमा खनालको भूमिका निर्णायक बन्ने स्थिति देखियो, ओलीकै प्रस्तावमा खनालको वरियता माथि सारियो । त्यसबाट खनाल खुसी भए । तर उनी पहिलेदेखि नै दाहालसँग निकट सम्बन्ध राख्छन् र अहिले स्वाभाविक रूपमा दाहालको कित्तामा पुगेका छन् ।
वामदेव गौतम स् अहिले नेकपाभित्र सबभन्दा चर्चाका पात्र हुन् गौतम । चुनाव हारेर पनि प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षा राख्छन् उनी । २०७४ को चुनावमा आफूलाई पार्टीका नेताहरु नै मिलेर हराएको उनको बुझाइ रह्यो । त्यसपछि उनले सुरुमा ओलीलाई नै सहयोग गरे । तर जब प्रतिनिधिसभामा प्रवेश गर्ने कुरामा ओलीले चासो दिएनन्, गौतमले अघिल्लो वर्षको स्थायी कमिटी बैठकमा ओली सरकारले काम गर्न नसकेको भन्दै १६ पृष्ठको प्रतिवेदन नै ल्याए । र, दाहालसँग नजिक भए ।
प्रधानमन्त्री ओलीले गौतमलाई आफ्नो पक्षमा ल्याउन उपाध्यक्ष पददेखि संगठन विभाग प्रमुख र कास्कीको उपनिर्वाचन लड्नसमेत प्रस्ताव गरे । यी घटनाक्रम हेर्दा गौतम कुनै विधि, पद्धतिभन्दा पनि आफ्नो भूमिका कहाँ–कसरी स्थापित हुन्छ भन्नेमै बढी केन्द्रित देखिन्छन् ।
कतिसम्म भने, उनले संविधान संशोधन नै गरेर राष्ट्रियसभा सदस्य हुँदै प्रधानमन्त्री बन्ने महत्त्वाकांक्षासमेत बोकेर हिँडे । यो प्रस्ताव यसअघि पार्टीले अस्वीकार गरेको थियो । तर, अहिले फेरि ओलीेले त्यस्तै प्रस्ताव ब्युँताएका छन्, जुन संविधान, कानुन, विधि, पद्धति र नैतिकताको कुनै कसीमा नाप्दा पनि जायज ठहरिन मुस्किल छ ।
गौतमलाई पटक–पटक प्रधानमन्त्रीको ललिपप देखाएर नेताहरुले ‘भकुन्डो’ को रूपमा प्रयोग गर्ने गरेको टिप्पणी अचेल हुने गर्छ । यो कुरा अहिले गौतमनिकट नेताहरुले पनि बुझेजस्तो देखिन्छ । ‘उपनिर्वाचन र संविधान संशोधन अहिलेका लागि असम्भव छ, अहिले वामदेव कमरेड प्रधानमन्त्री बन्ने सम्भावना छैन । पार्टी एकतालाई मजबुत गर्ने किसिमले त्यो प्रस्ताव आएको पनि होइन,’ उनीनिकट केन्द्रीय सदस्य बलराम बाँस्कोटाले भने, ‘मलाई लाग्छ, अहिले वामदेव कमरेड गोटी बन्नु हुँदैन, उहाँले धेरैपटक धोका पाउनुभएको छ । अब धोका पाउने स्थिति सिर्जना गर्न पनि हुँदैन ।’
प्वाल परेको डुंगा
नेकपाभित्रका सबैथरी नेताहरुको अहिलेको बहस हेर्दा लाग्छ– ‘आफूचाहिँ दूधले धोएको, अरूचाहिँ दागैदाग लागेका ।’ तर सिक्काको अर्को पाटो पनि छ । स्वार्थ मिल्दा अंगालो हाल्ने, स्वार्थ नमिल्दा एक अर्काविरुद्ध युद्ध छेड्ने प्रवृत्ति उनीहरुमा देखिन्छ ।
अहिले प्रधानमन्त्री ओलीले कुबेलामा अध्यादेश ल्याएर मुलुकको जनमत नै विभाजित गरिदिए । कोरोना भाइरसविरुद्धको संघर्षमा लड्नुपर्ने बेलामा पार्टीभित्रैबाट उनीविरुद्ध गम्भीर अविश्वास पैदा भयो । यही प्रकरणको प्रतिक्रियास्वरूप अहिले ओलीलाई हटाउने गरी दाहाल–नेपाल समूहले राजीनामा मागेको छ । दुई वर्षअघि पार्टी एकता गर्दा जेट विमान हाँकेको दाबी गर्ने नेताहरु गन्तव्यमा नपुग्दै ‘फोर्स ल्यान्डिङ’ गर्नुपर्ने वा दुर्घटनामा पर्ने अवस्थामा आइपुगेका छन् । उनीहरु सवार डुंगालाई पद, सत्ता, शक्ति र स्वार्थले प्वाल पारिरहेको छ ।
यी सबै घटनाक्रमलाई नियालिरहेका नेकपाका पुराना नेता प्रदीप नेपाल आफ्ना सहकर्मीहरु आपसमै भिडेर सकिने दिशामा लागेको ठान्छन् । ‘हाम्रा नेताहरुलाई गुट बनाउने बानी परेको छ, एउटा मालिक अरू नोकर हुन्छन् । हाम्रोमा गुट बनाउन वामदेव र केपी कमरेड सिपालु छन् ।
यसपालि सत्तामा गएपछि केपीको गुट कमजोर भयो । वामदेवसँग सदाबहार गुट छ । नेपाल र खनाल गुट बनाउन जान्दैनन्,’ केन्द्रीय सदस्यसमेत रहेका नेता नेपालले थपे, ‘केपी ओली यस्ता फन्डामा पहिलेदेखि नै माहिर हो । राजनीतिक सिद्धान्त नहुनु प्रचण्डको कमजोरी हो । यिनीहरु यस्तैमा लडेर बाँकी अढाइ वर्ष पनि बिताउँछन् ।’यो समाचार आजको कान्तीपुर दैनीकमा छ।