काठमाडौं– सरकारले इन्डक्सन चुल्होमा खाना पकाउँदा १ सय ५० यूनिटसम्म विद्युत् खपत गर्ने परिवारलाई महसुलमा २० प्रतिशत छुट दिने तयारी गरेको छ। लकडाउनका बेला खाना पकाउने एलपी ग्यासको सम्भावित अभावलाई मध्यनजर गर्दै ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई इन्डक्सन चुल्हो प्रयोग गर्दा लाग्ने शुल्कमा छुट दिन निर्देशन दिएका हुन्।
मन्त्री पुनले इन्डक्सनमा छुट दिँदा ग्यासको विस्थापनमा सहयोग पुग्ने बताए। उनले ग्यासमा भन्दा सस्तो पर्ने भएको उपभोक्तालाई इन्डक्सनमा खाना पकाउन आग्रहसमेत गरे।
अहि ले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि मुलुक नै लकडाउन भएपछि विद्युत खपतमा भारी गिरावट आएको छ। बिहान बेलुकाको समयमा विद्युतको माग सामान्य अवस्थामा १२ सय मेगावाटसम्म रहेकोमा हाल सो घटेर पिक आवरमा समेत ९ सय ४५ मेगावाटमा सीमित भएको छ।
यसअघि बुधबार बसेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले इन्डक्सन चुल्हो आयातमा लाग्ने भन्सार छुट दिने निर्णय गरेको थियो।यसअघि इन्डक्सन चुल्हो आयातमा १५ प्रतिशत भन्सार लाग्ने गरेको थियो।