कञ्चनपुर– शुक्लाफाँटा नगरपालिकाले पुनःस्थापना हुन बाँकी रहेका मुक्त हलियालाई आवास बनाइदिन काम अगाडि बढाएको छ। करिव २७ परिवारको पुनःस्थापन हुन बाँँकी रहेको जनाइएको छ।
यसका लागि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले रु एक करोड ४१ लाख रकम पठाएपछि पुनःस्थापनको काम अगाडि बढाइएको नगरप्रमुख दिलबहादुर ऐरले जानकारी दिए। उनले अहिले आवास निर्माण गर्न जग्गा खोजीको काम भइरहेको जनाइएको छ। उनले भने, ‘असार मसान्तभित्रै आवास निर्माणकार्य सम्पन्न गर्ने गरी काम अगाडि बढाएका छौँ।’
मुक्त हलियालाई आवास बनाउन जग्गा खोजी ‘निर्माण हुने आवास आधुनिक शैलीका हुने र सुविधासम्पन्न आवस निर्माण गर्ने हाम्रो लक्ष्य छ’, उनले भने। गत आवमा मुक्त हलिया पुनःस्थापनका लागि आएको रकम आर्थिक वर्ष समाप्त हुनैलाग्दा प्राप्त हुने बजेट फिर्ता भएको थियो। नगरपालिकामा लगतमा समावेश भएका ३८२ परिवार मुक्त हलिया रहेका छन्।
ती मध्ये २७ परिवारको पुनःस्थापन हुन बाँकी छ। लगतमा छुट भएका मुक्त हलियाको सङ्ख्या नगरपालिकामा १५२ छ। छुट मुक्त हलियाको समेत पुनःस्थापनका लागि काम अगाडि बढाइनुपर्ने राष्ट्रिय हलिया मुक्त समाज कञ्चनपुरका अध्यक्ष शिवी लुहारले माग गरे। कञ्चनपुरमा परिचयपत्र पाएका एक हजार ९९१ मुक्त हलिया परिवारमध्ये एक हजार ६८५ परिवारको पुनःस्थापन गरिएको छ।
पुनःस्थापनमा परेकामध्ये ६०० परिवारले घर निर्माणको दोस्रो किस्ताको रकम पाउन सकेका छैनन्। लगतमा समावेश भई पुनःस्थापनमा परेका सम्पर्कमा नआएका ५०० को लगत कट्टा गरिएको छ। उनका अनुसार जिल्लाभरिमा दुई हजार ८०० परिवार मुक्त हलिया लगतमा पर्नबाट छुटेका छन्।रासस