तुलसीपुर – हुलाकी राजमार्गअन्तर्गत दाङको लमही–कोइलावास सडकखण्डमा मिचेर बनाइएका घर टहरा भत्काउन शुरु गरिएको छ। गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले आफ्नो गाउँपालिकाअन्तर्गत सो राजमार्ग्भित्र पर्ने घर टहरा भत्काउन शुरु गरिएको जानकारी दिएका छन्।
सडक मिचेर बनाएका घर टहरा हटाउन १५ दिने सूचना जारी गर्दा पनि सम्बन्धित घरधनीले अटेर गरेपछि गाउँपालिका आफैँले टहरा हटाउन शुरु गरेको उनले बताएका छन्। ‘हामीले हुलाकी राजमार्गअन्तर्गत सडक मिचेर बनाएका घर टहरा हटाउन १५ दिने सूचना जारी गरेका थियौँ’, अध्यक्ष यादवले भने, ‘तर अटेर गरेपछि गाउँपालिकाले डोजर चलाएर हटाउन शुरु गरेका हाैँ।
अहिले सडक विस्तारको काम अघि बढिसकेको जनाइएको छ। ‘घर टहराले गर्दा राजमार्ग विस्तारमा समस्या हुँदै आएको थियो’, उनले भने, ‘अहिले भने टहरा हटाएपछि राजमार्ग विस्तारमा सहज हुँदै गएको छ।’
जग्गाको मुआब्जा पाएर पनि केहीले घरको मुआब्जा पाउनुपर्छ भन्ने माग राखेकाले पनि यस्तो समस्या आएको थियो। केहीले जग्गा बैंकमा राखेर ऋण लिएकाले पनि मालपोत कार्यालयले जग्गा रोक्का गरेको छ। त्यही कारणले पनि केहीलाई मुआब्जा वितरणमा पनि समस्या हुँदै आएको अध्यक्ष यादवले बताएका छन्।
सडक निर्माण गर्दा लमहीदेखि कोइलावाससम्मै धेरै समस्या भएको सडक निर्माण कम्पनी कालीका कुमार जेभीका प्रतिनिधि राजेन्द्र श्रेष्ठले जानकारी दिएका छन्। धेरैजसो स्थानमा स्थानीयको अवरोधका कारण निर्माण कार्य ढिलाइ भएको उनले बताएका छन्। ‘अहिले दाङ खण्डमा निर्माणको काम पूरा गर्ने समय सकिनै लागेको छ’, उनले भने, ‘स्थानीयकै अवरोधकै कारण सडक निर्माण ढिला हुँदै गएको छ।’ रासस