झापा — न त उनी चुनाबका उम्मेद्वार , न कालो धन लुकाउने चेष्टा। गाउँको स्तरोउन्नतीमा अरुको ध्यान नपुगेपछि मोरङ राजघाटका—७ हाल उर्लाबारी ९ का सुन्दर श्रेष्ठले आफ्नो नीजि खर्चमा समाजसेवा मार्फत गाउँ विकास गरिरहेका छन्। कैले सडक बत्ति त जडान त कैले विद्यालयमा विविध सहयोग। त्यतिमात्र होईन, खेलकुद तथा बाटोघाटो निर्माणमा पनि उनको सहयोग उच्चनै रहेको छ।
चुनाब आएपछि यो गर्छु र त्यो गर्छु भन्ने नेताहरुको लागि उनको यो काम यतिबेला गतिलो झापड भएको छ। सुन्दरलाई जान्ने बुझ्नेहरु भन्छन् ,उनले गाउँको लागि महत्वपूर्ण सहयोग गरेका छन्। गाउँको विकास गर्ने हो भने इच्छा शक्ति र सहयोगी मन भएका व्यक्ति चाहिन्छ। सुन्दरले आफ्नै लगानिमा गाउँ नै सुन्दर बनाउदैछन्। सुन्दर अर्थात समृद्धियुक्त। यो यात्रामा उनी निरन्तर लागिरहने प्रण गर्छन्। भन्छन्,सकुन्जेल गाउँ विकासमा सहयोग गरिरहने हो, नसकेको दिन जे होला होला।
उनले विद्यालयहरुमा सहयोग गरेका छन् भने गाउँमा सडकबत्ति जडान गरिदिएका छन्। आफ्नै लगानीमा बाटोघाटो निर्माण गरिदिएका छन। बन्दै गरेको पूलमा बाटो बनाउने रकम अभाव भएपछि केहि दिन अघि मात्र उनले बाटो बनाईदिएर मर्मत सम्भार गरिदिएका छन्, आफ्नै लगानीमा। खेलकुल तथा कलासंस्कृति पनि उच्च सहयोग गरेका छन्। सकारात्मक सोच बोकेर सहयोगी हात फिजाएर आएको मानिसहरुलाई सुन्दरले अहिले सम्म खालि हात फर्काएका छैनन्।
उर्लाबारी ९ को प्रभात निमाविमा उनले मञ्च निर्माण गरिदिएका छन्, पक्की घेराबारामा सहयोग गरेका छन्। यतिमात्र होईन,सोहि विद्यालयमा रंगरोगन गरेर चिटिक्क पारेका छन्। १० जना विद्यार्थी उनको लगानीमा निशुल्क पढिरहेका छन्। पोहोर साल पनि निशुल्क पढाईदिएका थिए,सुन्दरले। त्यति मात्र काहाँ होर , सोहि विद्यालयमा एक जना अंग्रेजी शिक्षक आफ्नै लगानीमा राखिदिएका छन्। यस्तै उर्लाबारी ९ कै राजघाट निमाबिमा विद्यालयको घेराबारा पछि गेट निर्माण गरिदिएका छन्। सार्वजनिक माविमा पक्की स्टेज सुन्दरकै लगानीमा बनेको हो।
गाउँको पोलपोलमा सडकबत्ति जडान गरिदिएर गाउँ नै झलमल्ल पारेपछि स्थानीयले खुशी प्रकट गर्छन्। नत्र गाउँ अन्धकार थियो। सुन्दरको सहयोग यतिमै सिमित छैन, गाउँको कृतन मण्डली मठमन्दिर,खेलकुदमा पनि उनको सहयोग उच्च छ। सुन्दर भन्छन्,धन भन्दा पनि मन भएर सहयोग गरेको हुँ।
काठमाडौं बसोबास गर्ने सुन्दर घर आउँदा कुनै न कुनै सामाजिक काम गरेर जान्छन्। आफुमात्र अघि बडौं आफु जतिको जान्ने र राजा कोहि छैन भन्नेहरुलाई सुन्दरको काम देख्दा टाउको दुखाई बनेको छ। किनकी न उनीहरु आफु राम्रो काम गरेर देखाउन सक्छन्, न अरुले गरेको काममा हौषलालाई नै दिन सक्छन्। तर कुनै प्रवाह राख्दैनन्, मेरा कामको मुल्याङ्कन समाजले गर्नेहरु हो, खुट्टा तान्नेहरु भएन भने के मज्जा। म कुनै प्रवाह राख्दिन, सुन्दर भन्छन्।
सुन्दरको यात्रा
घरमा हातमुख जोर्न धौधौ परेपछि २०४९ सालमा किशोरअवस्थामै काठमाण्डौ हानिएका थिए। खोपीडाँडामा जन्मेहुर्केर काठमाण्डौमा ठेक्कापट्टा र हाउजिङ्ग व्यवसाय गरिरहेका श्रेष्ठले गाउँको विकासका लागि लाखौं रुपैयाँ खर्चेका हुन्। सुरुमा काठमाण्डौ पुगेर उनले दैनिक ४० रुपैयाँ पारिश्रामीक लिएर ज्यालामजदुरी सुरु गरेका थिए। निर्माण क्षेत्रमा ज्यालामजदुरीदेखि मिस्त्री हुँदै ठेकेदार बनेपछि उनको जीवनमा आर्थिक क्रान्ति भएको हो। हाल उनी ठेक्कापट्टा र हाउजीङ्ग व्यवसायमा सम्लग्न छन्।
सुन्दर भन्छन्, म अझै आफुलाई एउटा लेबर हुँ भन्न रुचाउछु। सुरुमा परालको छाना र सण्ठीको बेरा भएको झुप्रो घरमा जम्नेहुर्केका श्रेष्ठको वाल्यअवस्था आर्थिक अभावमा कष्टकर थियो। तीन दाजुभाईमध्ये कान्छा उनी पढाईमा असफल भएपछि एसएलसी दिएर काठमाण्डौ हानिएका थिए। उनले सुरुमा आफ्नो कमाईले परालको छाना र सण्ठीको बेरा भएको घर छेऊमा काठको घर बनाए। त्यसपछि उनले काठमाडौं र .उर्लाबारीको आफ्नै खेतबारीमा आकर्षक पक्की घर बनाएका छन्।
ठेक्कापट्टा र हाउजिङ्ग व्यवसायबाट आयआर्जन गरेका श्रेष्ठ समाजसेवामा क्रियाशिल छन्। गाउँको विकासमा उनको चिन्ता रहने गर्छ। उनको सोच छ,हाम्रा सन्ततीले हामी भन्दा दुख नपाउन। श्रेष्ठले समाजमा गरेको आर्थिक सहयोग प्रति उनकी आमा भद्रकुमारी र पत्नी सुनिताले पनि खुशी व्यक्त गरेका छन्।