काठमाडौँ – भारतमा जारी पाँचौँ संस्करणको यू–१५ (पन्ध्र वर्षमुनि) साफ फुटबल च्याम्पियनसिपको आफ्नो पहिलो खेलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ।
कल्याणी रङ्गशालामा आज भएको खेलमा भारतसँग नेपाल ५–० को फराकिलो गोलअन्तरले पराजित भएको हो। भारतले खेलको पहिलो हाफमा तीन गोल गर्यो भने खेलको दोस्रो हाफमा दुई गोल थप्यो।
भारतको जितमा महेसनले खेलको छैटौँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले। त्यस्तै भारतका सुभो पाउले खेलको पहिलो हाफको २४औँ मिनेटमा गोल गरे भने अनिस मजुमदरले खेलको ४३औँ मिनेटमा एक गोल थपे। त्यसैगरी भारतका अर्का खेलाडी तैसन सिंहले खेलको ४९औँ मिनेटमा गोल गरे भने श्रीदर्थले खेलको ५६औँ मिनेटमा गोल गरे।
नेपालले हालसम्म यू–१५ साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन। प्रतियोगितामा नेपालसहित आयोजक भारत, बङ्गलादेश, श्रीलङ्का र भुटान रहेका छन्। राउण्ड रोविनको आधारमा सञ्चालन भएको उक्त प्रतियोगिताको शीर्ष दुई टोली उपाधिका लागि भिड्ने छन्।
नेपालले अब यही भदौ ६ गते श्रीलङ्कासँग खेल्नेछ। त्यस्तै नेपालले आफनो तेस्रो खेल भदौ २० गते बङ्गलादेशसँग खेल्नेछ भने अन्तिम खेल भदौ १२ गते भुटानसँग खेल्नेछ। (रासस)