सोमनाथ लामिछाने, काठमाडौँ - सुन्दा पत्यार लाग्दैन तर अमेरिकामा एकै वर्षमा बन्दुकसँग सम्बन्धित हिंसाका कारण सन् २०१८ मा ४० हजारको मृत्यु भएको थियो।
अमेरिकामा विद्यालय, कलेज, चलचित्र घर र अन्य सार्वजनिक स्थल एवं कार्यक्रममा जथाभावी गोली चलाएर हुने हत्या–हिंसाका घटना नियमितझैँ हुन थालेका छन् । यी घटनामा कमी आउनुको साटो बढ्दै गएको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्।
पछिल्लोपटक टेक्सास राज्यको एल पासोको वाल्मार्टमा सन् २०१९ अगस्ट ३ मा एक व्यक्तिले गोली चलाउँदा २२ जनाको मृत्यु भएको भोलिपल्टै ओहायो राज्यको डेटनमा ९ जनाको सामूहिक हत्या भयो। मेक्सिकाली नागरिकको बाहुल्य रहेको एल पासो घटनामा केही मेक्सिकालीको पनि ज्यान गएको थियो।
हत्यामा संलग्न व्यक्तिले आप्रवासीका कारण अमेरिकाको अस्तित्व नै सङ्कटमा पर्न लागेको भन्दै अमेरिकी राष्ट्रपतिका कदमहरूको समर्थन गरेको अमेरिकी सञ्चार माध्यमहरूले जनाएका छन्। अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई)ले यी दुवै घटनालाई अमेरिकी आतंकवादी घटना हो कि भन्ने दृष्टिबाट अनुसन्धान थालेको छ।
संयुक्तराज्य अमेरिकामा भएका पछिल्ला केही डरलाग्दा गोलीकाण्डहरू हेरौँ। फ्रान्सेली समाचार संस्था एएफपीको विवरणअनुसार सन् २०१७ अक्टोबर १ मा लास भेगासमा भएको एउटै गोलीकाण्डमा ५८ जना मारिएका थिए। यस घटनामा झन्डै ५ सय ५० जना घाइते भएका थिए। गोली चलाउने ६४ वर्षीय एक जना अवकाशप्राप्त लेखा अधिकृतले गोलीकाण्ड मच्चाएलगत्तै आत्महत्या गरेका थिए। अमेरिकी इतिहासमा एउटै घटनामा यति धेरै मानिस मारिएको यो पहिलो घटना हो।
सन् २०१६ को जुन १२ मा ओर्लान्डो शहरको एउटा समलिङ्गीहरूको पल्स रात्रिक्लबमा गोली चलाउँदा ४९ जना मारिएका थिए। प्रहरी कारवाहीमा ती व्यक्ति मारिएका थिए। उनले आफू इस्लामिक स्टेट समूहको विचारधाराबाट प्रभावित भएको बताएका थिए।
सन् २०१२ डिसेम्बरमा कनेक्टिकटमा एक जना २० वर्षीय युवाले आफ्नी आमाको हत्या गरी स्यान्डी हुक इलिमेन्टरी स्कुलमा बम विस्फोट गराउँदा स्कुले बालबालिका र शिक्षकसमेत गरी २६ जनाको ज्यान गएको थियो। त्यस्तै सन् २०१७ नोभेम्बर ५ का दिन टेक्सासको सान एन्टोनियोमा एउटा गिर्जाघरमा प्रवेश गरेका एक २६ वर्षीय व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा गिर्जाघरमा भेला भएका २५ जनाको मृत्यु हुनुका साथै कम्तीमा २५ जना घाइते भएका थिए। अमेरिकी वायुसेनाको कारवाही (कोर्टमार्सल)मा परेका उनले आत्महत्या गरेका थिए।
फ्लोरिडाको पार्कल्यान्डको मर्जोरी स्टोनम्यान डग्लस स्कुलका १९ वर्षीय पूर्वविद्यार्थीले स्कुलभित्र प्रवेश गरेर गोली चलाउँदा १७ जना स्कुले विद्यार्थी र शिक्षकको ज्यान गएको थियो। सन् २०१८ फेब्रुअरी १४ को यस घटनामा संलग्न ती पूर्वविद्यार्थीलाई स्कुलले अनुशासनको कारबाही गरेर स्कुलबाट निकालेको थियो।
यी त केही प्रतिनिधि घटना मात्र हुन्। अमेरिकी इतिहासमा क्यालिफोर्निया अफिस पार्टी, भर्जिनिया बिच, क्यालिफोर्निया बार, कोलोराडोको सिनेमा घर, पिट्सबर्गको यहुदी प्रार्थना घर, सान्ता फे स्कुलमा भएका घटनामा निहत्था सयौँ व्यक्तिको ज्यान गएको थियो।
अमेरिकी प्यू रिसर्च सेन्टरका अनुसार ५० वर्ष उमेर नाघेका एक तिहाइ अमेरिकीले आफूहरूसँग बन्दुक रहेको बताएका थिए। बन्दुकको स्वामित्व रहने युवाको दरमा भने कमी आएको देखिएको छ अर्थात् २८ प्रतिशतसँग बन्दुक छ। बन्दुक राख्नेहरूमा बढीजसो गोरा जातिका मानिस छन्। सन् २०१७ मा बन्दुकजन्य अपराधका घटनाबाट झन्डै ११ हजारको ज्यान गएको थियो। विश्वका शक्तिसम्पन्न र धनाढ्य मुलुकमा यो सबैभन्दा डरलाग्दो अवस्था हो। नागरिक स्तरमा विश्वमा बन्दुक राख्ने मुलुकमा सबैभन्दा माथि अमेरिका छ।
अमेरिकी अखबार दी न्यूयोर्क टाइम्सले सन् २०१८ मा बन्दुकजन्य अपराधका घटनामा झन्डै ४० हजारको ज्यान गएको जनाएको छ। विगत ५० वर्षमा यो आँकडा सबैभन्दा ठूलो हो। सन् २०१६ मा बन्दुकसँग सम्बन्धित घटनाका कारण अमेरिकामा ३८ हजार ८ सय ५८ जनाको मृत्यु भएको अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले जनाएको छ। जसमा आत्महत्याका निम्ति २२ हजार ९ सय ३८ जनाले बन्दुकको प्रयोग गरेका थिए। यस्तै १४ हजार ४ सय १५ जनाको हत्या बन्दुक प्रहारबाट भएको थियो।
अमेरिकी बन्दुक कानुनमा कडाइ गर्ने वा नरम नीति ल्याउने भन्नेबारेमा अमेरिकी जनमत बाझिएको छ। ग्यालपको पछिल्लो मतसर्वेक्षणमा बहुसंख्यक अमेरिकी (करिब ४६ प्रतिशत) अमेरिकी बन्दुक कानुन र नीतिप्रति बेखुशी रहेको देखिएको छ। उनीहरूले बन्दुक खरिद गर्ने र राख्ने सन्दर्भमा कडा नियमहरू अवलम्बन गर्नुपर्ने मत राखेका छन्। मानसिक अस्वस्थता वा प्रहरीको “वाच लिस्ट” मा परेकाहरूको हातमा बन्दुक पुग्न नदिन विशेष ध्यान दिनुपर्ने माग सर्वत्र भइरहेको छ।
तर, अमेरिकामै सर्वाधिक शक्तिशाली मानिएको राष्ट्रिय राइफल संघ (एनआरए)ले अमेरिकामा बन्दुकको नियन्त्रण गर्नै नहुने पक्षमा लबिङ गरिरहेको छ। संघले नागरिकका हातमा बन्दुक भएमा मुलुक बढी सुरक्षित हुने तर्क गरिरहेको छ। प्यू रिसर्च सेन्टरका अनुसार अमेरिकी बन्दुक नीतिलाई प्रभावित तुल्याउन सक्षम ठानिएको यस संघले लबिङकै लागि वार्षिक करिब ५२ लाख अमेरिकी डलर खर्च गरिरहेको छ।
अमेरिकामा बन्दुक राख्ने प्रत्येक पाँचमा एक व्यक्ति एनआरएको सदस्य छन्, यसमा रिपब्लिकन समर्थकहरूको बाहुल्य छ। संघले कडा बन्दुक नीतिको विपक्षमा वकालत गर्ने व्यक्तिलाई चुनावमा सघाउने गरेको छ। अमेरिकामा पछिल्ला केही वर्षदेखि बन्दुक किन्न र राख्न खोज्ने व्यक्तिमाथि कडा नियमहरू लगाउनुपर्ने माग राखी राजधानी वासिङ्टनसहित देशका ठूला शहरमा प्रदर्शनहरू भइरहेका छन्।
यी प्रदर्शनमा डेमोक्र्याटिक पार्टीको पनि समर्थन रहेको छ तर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको रिपब्लिकन पार्टीले एनआरएको प्रभावमा बन्दुक कानुन र नीतिमा सुधार गर्न चाहेको देखिन्न। अमेरिकी राष्ट्रपतिले सार्वजनिक रूपमै अल्पसंख्यक र आप्रवासीका बारेमा राख्ने धारणाले अमेरिकी समाजमा नैराश्यता र घृणा फैल्याएको र समाजलाई नै विभाजित गर्नुका साथै हिंसातर्फ उक्साएको आरोप लाग्ने गरेको छ ।
(लेखक राससका सम्पादक हुन्)