काठमाडौँ । जनकपुरधामस्थित जानकी मन्दिरका उत्तराधिकारी छोटे महन्त रामरोशन दास वैष्णवले नेपाल प्रहरीको साइबर ब्यूरोको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।
आइतबार जानकी मन्दिरमै पत्रकार सम्मेलन गर्दै उनले करिब सात महिनाअघि काठमाडौँको भोटाहिटीस्थित साइबर ब्यूरोमा दर्ता गराएको उजुरीमाथि अहिलेसम्म कुनै कारवाही नभएको गुनासो गरेका हुन् । उनका अनुसार करिब एक वर्षदेखि जानकी मन्दिर र आफ्नो नाम प्रयोग गरी फेक फेसबुक प्रोफाइल बनाएर गलत सामग्री तथा पोस्टहरू सार्वजनिक भइरहेका छन् । सोही विषयमा उनले जिल्ला प्रहरी कार्यालय हुँदै साइबर ब्यूरोमा समेत उजुरी दिएका थिए ।
तर लामो समय बितिसक्दा पनि फेक प्रोफाइल सक्रिय नै रहेको र दोषी पहिचान तथा नियन्त्रणमा नआएकामा उनले प्रश्न उठाएका छन् । फेक अकाउन्टमार्फत विशेष गरी महिलाहरूलाई फ्रेन्ड रिक्वेस्ट पठाउने र चरित्रहत्या गर्ने गतिविधि भइरहेको भन्दै उनले यसले मन्दिरको गरिमा र व्यक्तिगत छविमा असर परेको बताए । उनले सर्वसाधारणलाई त्यस्ता फेक प्रोफाइलबाट आउने फ्रेन्ड रिक्वेस्ट स्वीकार नगर्न र ब्लक तथा रिपोर्ट गर्न आग्रह गरेका छन् । साथै, साइबर ब्यूरोलाई तत्काल फेक प्रोफाइल नियन्त्रण गरी दोषीमाथि कारवाही गर्न माग गरेका छन् ।