चिप्लेढुङ्गा - नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकुद (साग)अन्तर्गत ह्यान्डबल खेलको बन्द प्रशिक्षण पोखरामा शुरु भएको छ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले प्रशिक्षकद्वय अरुणलाल कर्ण र टेकबहादुर विश्वकर्मालाई बल हस्तान्तरण गरी बन्द प्रशिक्षणको शुभारम्भ गरेका हुन्।
उक्त प्रशिक्षणमा परिषद्का सदस्य गुरुङले खेलाडीलाई शुभकामना दिँदै राष्ट्रिय गौरव बढाउन ह्यान्डबल खेलले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताए। गुरुङले तोकिएकै समयमा नेपालमा साग हुने बताए। उनले खेलाडी र प्रशिक्षकलाई भत्तालगायतका सुविधा थप गर्न परिषद्ले गृहकार्य थालेकोसमेत जानकारी दिए।
कार्यक्रममा नेपाल ह्यान्डबल सङ्घका अध्यक्ष तेज गुरुङले खेलाडीलाई आफ्नो अनुशासनमा रही पदक जितेर राष्ट्रिय गौरव बढाउन ह्यान्डबल खेलाडीलाई आग्रह गरे। सागअन्तर्गत बन्द प्रशिक्षणका लागि २८ महिला र २८ पुरुष गरी ५६ खेलाडी पहिलो चरणको छनोटमा परेका छन्। सागको महिला तथा पुरुषको ह्यान्डबल खेल पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्डहलमा २०७६ मङ्सिर १५ देखि २४ सम्म हुनेछ। (रासस)