कास्की - पर्यटकीय शहर पोखरामा आगामी भदौ १४ गते ‘प्रथम नेपाल फुलकन्ट्याक्ट प्रेसिडेन्ट कप कराँते ग्रान्ड च्याम्पियनशिप’ आयोजना हुने भएको छ।
नेपाल फुलकन्ट्याक्ट कराँते महासङ्घको आयोजनामा हुने प्रतियोगितामा १५ सङ्घका ३२ पुरुष र ३२ महिला गरी ६४ खेलाडीले प्रतिस्पर्धा गर्ने महासङ्घका अध्यक्ष दमन बस्नेतले बताए। प्रतियोगितामा पुरुष तथा महिला खुला तौल समूहमा महासङ्घमा आबद्ध सबै सङ्घका खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताका विजेताले नगद रु. १ लाख, द्वितीय र तृतीय हुने खेलाडीले क्रमशः रु. ५० हजार र रु. २५ हजार पुरस्कार प्राप्त गर्नेछन्। खेलको पहिचान, खेलाडीको उत्साह तथा प्रशिक्षकको परिश्रमबाट अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गरी यस खेलप्रति सर्वसाधारणको आकर्षण बढाउन प्रतियोगिता गर्न लागिएको बस्नेतले बताए।
डोजो, सङ्घ, क्लब, खेलाडी तथा प्रशिक्षकको हकहित संरक्षण तथा राष्ट्रियस्तरका खेलाडी तयार गरी अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी गराउने उद्देश्यले विसं २०६१ मा महसङ्घको गठन भएको बताइन्छ।
प्रदेशस्तरीय कराँते प्रतियोगिता हुने
पोखरा रङ्गशालामा आगामी भदौ १३ र १४ गते दोस्रो गण्डकी प्रदेशस्तरीय पुरुष तथा महिला कराँते प्रतियोगिता गरिने भएको छ । नेपाल क्योकुसिन कान कराँते सङ्घ कास्कीको आयोजनामा हुने प्रतियोगितामा क्योकुसिन बुदोकाई कराँते सङ्घमा आबद्ध महिला तथा पुरुष गरेर २ सय खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
पुरुषतर्फ २५, ३०, ४०, ४५, ५० र ५५ केजीदेखि माथि ६० केजीमुनि तौल समूह र खुला तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा हुनेछ। महिलातर्फ ४० केजी, ४५ केजीमुनि तौल समूह र खुला तौल समूहमा प्रतिपस्पर्धा हुने प्रतियोगिता संयोजक दीपकबहादुर गोदारले बताए।
स्थानीयस्तरबाट खेलाडी उत्पादनका लागि प्रतियोगिताले सहयोग गर्ने र प्रतियोगिता सञ्चालन गर्न रु. ५ लाख ५० हजार खर्च लाग्ने अनुमान आयोजकको छ। (रासस)