काठमाडौँ– भारतीय गायन रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपाली बालकहरू प्रितम आचार्य र आयुष केसी क्रमश: तेस्रो र चौंथो भएका छन्। उक्त रियालिटी शोमा १४ वर्षीया सुगन्धा दातेले लिटिल च्याम्पको उपाधि हासिल गरिन् भने मोहम्मद फैज दोस्रो भएका छन्।
आइतबार राती जी टिभीबाट प्रशारण भएको शोको फाईनलमा ६ जना प्रतिस्पर्धी पुगेका थिए। शो अवधिभर उत्कृष्ट प्रस्तुति दिएका दुवैजना नेपाली बालकहरूले जजहरुको मन जिते पनि भोटिङको आधारमा उनीहरू तेस्रो र चौंथो भएका हुन्।
११ वर्षका प्रितम आचार्य ईटहरीका हुन् भने १२ वर्षका आयुष केसी भक्तपुरका हुन्। प्रितम आचार्यलाई सोमबार झापाको काँकरभिट्टामा स्वागत गरिएको छ। उनलाई संगीतकर्मी, उनका आफन्त तथा सहपाठीहरूले स्वागत गरेका थिए।
यो वर्ष नेपालका ८ प्रतिस्पर्धी सहभागी थिए। आयुष र प्रितम कलिङ्ग राउण्डबाट मेगा अडिसनमा प्रस्तुति दिएर टप ३० मा परेका थिए।