काठमाडौँ – चलचित्र ‘दासढुंगा–च्याप्टर २’ निर्माण हुने भएको छ। सन् २०१० मा रिलिज नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का तात्कालिन महासचिव मदन भण्डारीको मृत्युमा आधारित चलचित्र ‘दासढुंगा’ को दोस्रो भागको रूपमा ‘दासढुंगा – च्याप्टर २’ निर्माण हुन लागेको हो।
अपिल विष्ट र कुशल पाण्डे चलचित्रको निर्माता रहने छन्। त्यसका लागि तयारी थालिएको निर्माता अपिल विष्टले बताए। अपिल विष्ट फिल्मर्सले निर्माण गर्ने चलचित्रलाई लेखन र निर्देशक कुमार भट्टराईले गर्नेछन् भने दीपक ओली र प्रकाश केसीले कार्यकारी निर्माता तथा सह–निर्माता प्रदीप आचार्य रहने छन्।
कस्तो बन्छ चलचित्र?
सन् २०१० मा रिलिज चलचित्र ‘दासढुंगा’ नेपाल कम्युनिष्ट पार्टी ‘एमाले’का तात्कालिन महासचिव मदन भण्डारीको रहस्यमय दुर्घटनामा आधारित थियो। भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय दुर्घटनामा मृत्यु भएको थियो।
निर्माण गरिन लागिएको ‘दासढुंगा – च्याप्टर २’ भने मदन भण्डारीको रहस्यमय दुर्घटनामा मात्रै केन्द्रित हुने छैन। सार्वजनिक गरिएको थिम पोस्टरले पनि उक्त कुराको पृष्ठ गर्छ।
थिम पोस्टरले ‘राष्ट्रपति, प्रधानमन्त्री, राजनीति र दुर्घटना’को विषयलाई केलाउने प्रयास गरेको प्रष्ट हुन्छ। चलचित्रको कथा अहिले नै टुङ्गो लागि नसकेको बताउने निर्माता विष्ट भन्छन्, ‘चलचित्र मदन भण्डारीको रहस्यमय दासढुंगा दुर्घटनाका बारेमा पनि सम्बन्धित हुन्छ। ठूला राजनीतिज्ञको दुर्घटना र राजनीतिमा बढी केन्द्रित हुन्छ।’
कलाकार
‘दासढुंगा’मा सौगात मल्ल, अनुप बराल, संचिता लुइँटेल, दयाहाङ राई, विश्व बस्नेत, बिएस राणा, रामशरण पाठक, डा, केपी भण्डारीलगायतको अभिनय थियो।
‘दासढुंगा – च्याप्टर २’ का लागि एक हप्ताभित्र कलाकारको टुङगो लाग्ने निर्माता विष्टले बताए। उनले भने, ‘नयाँदेखि पुराना पुस्ताका कलाकारसम्मको अभिनय चलचित्रमा देख्न पाइनेछ।’