काठमाडौं – फिल्म निर्देशक तथा कलाकार अशाेक शर्माकाे ‘रातो टीका निधारमा’ फिल्मको औपचारिक घोषणा गरिएको छ। यस फिल्मबाट अंकित शर्माले नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्ने भएका छन्। अंकित अशोक शर्माका छोरा हुन्। यस फिल्मको निर्देशन पनि शर्माले नै गर्ने भएका छन्।
अंकितले मलेशियाबाट ‘डिजिटल फिल्म एण्ड टेलिभिजन’ कोर्षमा स्नातक गरेका हुन्। निर्देशक शर्मा आफ्नो छोरालाई फिल्ममा डेब्यु गराउने समय आएकाले फिल्ममा अनुबन्धित गराएको भन्दै छोराले आफ्नो भूमिकालाई न्याय दिने विश्वास व्यक्त गरेका छन्।
त्यस्तै, पहिलो पटक अंकितले साम्राज्ञी राज्यलक्ष्मी शाहसँग अभिनय गर्ने अवसर प्राप्त गरेका छन्। त्यसैगरी, फिल्ममा निता ढुंगाना, रवीन्द्र झा, बुद्धि तामाङ, खुश्वु खड्का, बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायत कलाकारको अभिनय रहने जानकारी दिइएको छ।
यो फिल्मको नाम ‘अल्लारे’ फिल्ममा समावेश गीत ‘रातो टीका निधारमा’ बाट तय गरिएको हो। आगामी दशैँमा रिलिज गरिने फिल्मको छायांकन जेठ १० गतेबाट शुरू हुने बताइएको छ।