काठमाडौँ - भारतको पुनेमा आयोजना हुने अन्तरराष्ट्रिय मोडलिङ प्रतियोगिता ‘द फेस अफ साउथ एशिया’मा नेपालका नाै मोडल सहभागी भएका छन्। प्रतियोगितामा सहभागी हुनेहरूमा आशिष केसी (विजेता, मोडल हन्ट नेपाल २०१८) मसिष सुवेदी, पोषण शर्मा, शाश्वत् शाही, राघव अग्रवाल (मोडल हन्ट सहभागी) रुविष्का श्रेष्ठ (फस्ट रनर अप, मोडल हन्ट नेपाल २०१८), निर्मला न्यौपाने, थिन्ले ल्हामो र सुष्मिता थापा (मोडेल, नेक्स्ट मोडेल नेपाल) रहेका छन्।
हिजो बिहीबारदेखि भोलि शनिबारसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि नेपाली मोडलहरू बुधबार साँझै भारत प्रस्थान गरेका हुन्। प्रतियोगितामा नेपाली सहभागीहरूले राष्ट्रिय झण्डासहित नेपाली कला र संस्कृति झल्कने मौलिक परम्परा प्रस्तुत गर्ने बताइएकाे छ।
प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र अरबिया लगायत एशियाली मुलुकका मोडलहरूले प्रतिस्पर्धा गर्नेछन्। कार्यक्रममा सहभागी हरेक देशका प्रतिनिधिमध्ये एक जनालाई राष्ट्रको नाम जोडेर फेस अफ द देश घोषणा गर्ने गरिन्छ।
त्यस्तै, प्रतियोगिताबाट छानिएका उत्कृष्ट एक महिला र एक पुरुष मोडलले कोरियामा आयोजना हुने ‘एशिया मोडल फेष्टिबल’मा समेत सहभागी हुने अवसर पाउनेछन्।