पोखरा - फिल्म प्रचारका लागि देश दौडाहामा रहेको ‘दाल भात तरकारी’ युनिट अहिले पोखरा पुगेकाे छ। पूर्वका सबै भागमा प्रचार सकेर अन्तिममा पोखरा आएको निर्माण युनिटले जानकारी दिएकाे हाे ।
सामाजिक कथावस्तुलाई व्यङ्ग्यात्मक शैलीमा प्रस्तुत गरिएको फिल्म महसञ्चारको प्रस्तुतिमा हास्यव्यङ्ग्य कलाकार किरण केसीले निर्माण गरेका हुन्। फिल्ममा किरणका छोरा सुदन केसीको निर्देशन रहेको छ।
योसँगै फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, निरुता सिंह, प्रियङ्का कार्की, पुष्पल खड्का, वर्षा राउत, किरण केसी, शिवहरि पौडेल, राजाराम पौडेल, बसुन्धरा भुषाल, यमन श्रेष्ठ, मोहितवंश आचार्य, जयनन्द लामा, शिशिर वाङ्देल, अनुराग कुँवर, विल्सन विक्रम राई र सुरेन्द्र केसीको मुख्य भूमिका रहेको छ।
फिल्म बालकदेखि बुढापाका, तन्नेरी सबैले हेर्न मिल्ने खालको बनेको निर्माता तथा कलाकार किरण केसीले बताएका छन्। हरिवंश, मदनकृष्णले अभिनय गरिसकेपछि फिल्मले नकारात्मक सन्देश दिने त कुरै आउँदैन, भन्ने उनले दाबी गरेका छन्। फिल्म सबै उमेर समूहले हेर्न मिल्ने खालको बनेको छ। फिल्म रिलिजअघि नै डेढ दर्जन शाे विक्री भइसकेको उनले बताए।
यसअघि प्रदर्शनमा आएको ‘शत्रुगते’ फिल्मलाई दर्शकले दिएको मायाले नै फिल्म चल्नेमा ढुक्क रहेको कलाकार हरिवंश आचार्यले बताए। ‘शत्रुगते’ प्रदर्शनमा आएपछि अरु राम्रा भनिएका फिल्मभन्दा पनि राम्रो हेरिएको थियो भने, ‘दालभात तरकारीलाई पनि त्यसरी नै माया गरिदिनुहुन्छ भन्नेमा म ढुक्क छु।’
फिल्मबारे बोल्दै अन्य कलाकारले पनि फिल्म धेरै राम्रो बनेको बताएका छन्। शारीरिक अस्वस्थताका कारण कलाकार मदनकृष्ण श्रेष्ठ भने पोखरामा उपस्थित भएका थिएनन्।
फिल्म रिलिजको समय आउँदो वैशाख २० गते तोकिएको छ। फिल्म युनिटले दिउँसो २ बजे मानवअधिकार चोक चिप्लेढुङ्गा अघि ‘रोड शाे’ पनि गर्ने निर्माण युनिटले जानकारी दिएकाे छ।