ओखलढुङ्गा – ओखलढुङ्गामा आयोजित पिके–देम्बा हाफ म्याराथनको उपाधि गोरखाका भीमबहादुर गुरुङ र प्युठानकी हुमी बुढामगरले जितेका छन्।
करिब ४ हजार २ सय मिटर उचाइमा रहेको सोलुखुम्बुको पिकेदेखि ओखलढुङ्गाको खिजीफलाटेसम्म भएको हाफ म्याराथनमा पुरुषतर्फ गोरखा जिल्लाका भीमबहादुर गुरुङ र महिलातर्फ प्युठानकी हुमी बुढामगर प्रथम भएका छन्।
गुरुङले २१ किलोमिटरको दूरी १ घण्टा ४९ मिनेट र बुढामगरले २ घण्टा ४० मिनेटमा पार गरेका थिए। दुवैले नगद ५०–५० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका छन्।
पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ दोस्रो र खोटाङका हेमराज बस्नेत तेस्रो भएका छन्। कुलुङले निर्धारित दूरी १ घण्टा ५३ मिनेट र बस्नेतले १ घण्टा ५९ मिनेटमा पूरा गरेका थिए।
यसैबीच महिलातर्फको म्याराथन दौडमा खिजीदेम्बा गाउँपालिका–३ ओखलढुङ्गाकी कृष्णकुमारी भुजेल दोस्रो र मोलुङ गाउँपालिका ओखलढुङ्गाकी छोटी शेर्पा तेस्रो भएका छन्। भुजेलले २ घण्टा ५२ मिनेट र शेर्पाले २ घण्टा ५४ मिनेटमा दौड पूरा गरेका थिए।
पुरुष र महिलातर्फ दोस्रो र तेस्रो भएका प्रतियोगीले क्रमशः ४० हजार र ३० हजार रुपैयाँसहित प्रमाणपत्र पाएका छन्। म्याराथनका माध्यमबाट त्यस क्षेत्रको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ओखलढुङ्गा टुरिजम डेभलपमेन्ट कमिटीले हाफ म्याराथन आयोजना गरेको कमिटीका प्रथम उपाध्यक्ष वाङ्डा शेर्पाले बताए।
४ हजार २ सय मिटर अग्लो सोलुखुम्बुको पिकेदेखि २ हजार ५ सय मिटर उचाइमा रहेको खिजिफलाटेसम्म २१ किलोमिटर हाफ म्याराथन गरिएको उनको भनाइ छ। उपाध्यक्ष शेर्पाका अनुसार दौडमा दुवैतर्फ आठौँ स्थानसम्मका प्रतियोगीलाई नगद तथा प्रमाणपत्रले पुरस्कृत गरिएको छ।
म्याराथनमा ओखलढुङ्गा, सोलुखुम्बु, खोटाङ, भक्तपुर, प्युठानलगायत जिल्लाका ९४ महिला तथा पुरुष धावक सहभागी थिए। (रासस)