काठमाडौँ - नेपालमा रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको अभाव पुरा गर्न चितवनको भरतपुरमा गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशाला बनाउन तल्लीन भएर लागेको छ, धुमुर्स सुन्तली फाउन्डेसन। तीन अर्ब लगानीमा फाउण्डेशनले भरतपुर महानगरपालिका -१५ मा रहेको त्रिभुवन विश्वविद्यालयको नाममा रहेको जग्गामा रंगशाला निर्माण गर्दैछ।
रंगशाला निर्माणका लागि आवश्यक ठूलो रकम जुटाउन फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुमुर्स) र कुञ्जना घिमिरे (सुन्तली)मात्र नभएर अन्य पब्लिक फिगर, सामाजिक अभियन्ता तथा सर्वसाधारण सबै जुटेका छन्। यसै क्रममा देश-विदेशमा रहेका नेपाली नागरिक, संघ-संस्थालगायतले पनि पूर्ण रुपमा सक्दो सहयोग गर्ने लहर चलिरहेकै छ। स्थानीय स्तरमा पनि श्रमदान तथा चन्दा संकलनका लागि खुत्रुके अभियान लगायतका कार्यक्रमहरुमा सरोकारवालाहरु जुटेका छन्।
सोही क्रममा रंगशाला निर्माणमा सहयोग पुर्याउनका लागि हाल अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुले फरक तरिका अपनाएका छन्। उनीहरु पनि यो राज्यका लागि समर्पित काममा सहयोग पुर्याउनका लागि क्रिकेट फिगरकै मार्ग अपनाउँदै छन्। अमेरिकाको पेन्सिलभेनियामा बसोबास गर्दै आएका चित्र गौतम, खेम ढकाल र सञ्जीव बस्नेतले नेपाली युवा बलर सन्दीप लामिछानेले अन्तर्राष्ट्रिय क्रिकेटमा लिएको प्रति विकेट बराबर ५ अमेरिकी डलर रंगशाला निर्माणका लागि सहयोग गर्ने बताएका छन्।
उनीहरु तीनै जनाले प्रतिविकेट ५ अमेरिकी डलर सहयोग गर्नेछन्। यसो हुँदा सन्दीपले लिएको एक विकेटले रंगशाला निर्माणमा उनीहरुबाट लगभग १ हजार ६ सय ५० नेपाली रुपैयाँ सहयोग मिल्नेछ। यो योजना यही मार्च २३ तारिख बाट शुरु हुने इन्डियन प्रिमियर लिग (आईपीएल)मा सन्दीपले खेल्ने खेलबाट शुरु भई गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालको उद्घाटन हुने दिनसम्म लागू हुनेछ।
रंगशाला निर्माण अभियानमा जुटेका नेपाली हास्य कलाकार कुमार कट्टेलले आफ्नो फेसबुकमा टाइमलाइनमा पोष्ट गर्दै ३ जनाको सहयोगको प्रतिवद्धता बारे जानकारी दिएका छन्। उनले यो जानकारी सहितको पोष्टमा भनेका छन्, ‘यस्तै साना-साना सकरात्मक शुरुआतले नै ३ अर्बको परियोजना सम्भव हुनेछ। आउनुहोस् सबै मिलेर यो अभियान सफल पारौँ।’
फाउन्डेसनले शुरु गरेको यो अभियानमा सहयोग गर्दै सहभागी हुनका लागि जोकोहीले पनि नेपाल इन्भेष्टमेन्ट बैकमा रहेको धुमुर्स सुन्तली फाउन्डेसनको खाता नम्बर: ४००१०३०२५८७५३ मा आफूले चाहेको रकम जम्मा गर्न सक्नेछन्।
https://www.facebook.com/jigri.bhadragol/posts/425907138155307
