काठमाडौं । बिचौलिया इनम सापकोटासँग जोडिएका विषयलाई लिएर सर्वोच्च अदालतको पूर्ण बैठकमा छलफल भएको छ।
शुक्रबार बसेको बैठकमा सापकोटाको मोबाइलमा देखिएका न्यायाधीशहरूको नाम र उनीहरूसँगको सम्पर्कबारे प्रश्न उठाइएको हो। बैठकमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नाम सापकोटाले लिएको तथा न्यायाधीश हरिप्रसाद फुयालले उनलाई भेटेको विषयमा न्यायाधीशहरूले जिज्ञासा राखेका थिए। सर्वोच्च अदालतका प्रवक्ता अशोकुमार क्षेत्रीका अनुसार प्रधानन्यायाधीश शर्मासहित न्यायाधीशहरूको उपस्थितिमा समसामयिक विषयमाथि छलफल भएको थियो। त्यसक्रममा प्रधानन्यायाधीश शर्मा र न्यायाधीश फुयालले पनि आफ्नो धारणा राखेका थिए।
छलफलका क्रममा केही न्यायाधीशले सार्वजनिक भएका विवरणको अध्ययन तथा छानबिन गर्न न्यायपालिकाभित्रै समिति गठन गर्नुपर्ने सुझाव दिएका थिए। यसअघि प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलले आफूहरूबारे विभिन्न सञ्चारमाध्यममा प्रकाशित विवरण भ्रामक रहेको भन्दै प्रेस विज्ञप्ति जारी गरेका थिए।