काठमाडौं । नागढुंगा सुरुङमार्ग भएर आवतजावत गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर टोल शुल्क उठाइने भएको छ।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै शुल्क संकलन सुरु हुने जनाएको हो। सडक बोर्ड नेपालको कार्यकारी समितिले असोज १२ गते गरेको निर्णयअनुसार टोल शुल्क लागू गर्न लागिएको आयोजनाले जनाएको छ।निर्धारित शुल्कअनुसार काठमाडौं प्रवेश गर्ने कार, भ्यान, पिकअप, ट्र्याक्टर, माइक्रोबसलगायत हलुका सवारीसाधनले ६५ रुपैयाँ तिर्नुपर्नेछ। काठमाडौं प्रवेश नगरी सुरुङमार्गबाट बाहिरिने यस्ता सवारीसाधनका लागि भने ६० रुपैयाँ शुल्क निर्धारण गरिएको छ।
त्यसैगरी, मिनी बस तथा मिनी टिपर वा ट्रकले काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ। सिंगल रियर एक्सल भएका बस तथा ट्रकका लागि प्रवेश शुल्क २५० रुपैयाँ र बाहिरिने शुल्क २०० रुपैयाँ तोकिएको छ।मल्टी एक्सल ट्रक, अन्य ठूला सवारीसाधन तथा भारी उपकरणका हकमा काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ टोल शुल्क लाग्नेछ।टोल शुल्क लागू भएसँगै नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीचालकले आफ्नो सवारीको वर्गअनुसार निर्धारित दस्तुर तिरेर आवतजावत गर्नुपर्नेछ।