काठमाडौं । ‘अर्नब’ चक्रवातको सम्भावित प्रभावका कारण नेपालका विभिन्न नदी तथा जलाधार क्षेत्रमा वर्षा बढ्ने र नदीको बहावमा वृद्धि हुन सक्ने पूर्वानुमान गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले कात्तिक १५ गतेसम्मको सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार नारायणी, बागमती, कमला, कन्काई र कोशी नदीका जलाधार तथा आसपासका क्षेत्रमा वर्षाको प्रभाव बढी देखिन सक्नेछ। वर्षाको मात्रा र नदीको बहावअनुसार जलजन्य जोखिमको अवस्था परिवर्तन हुन सक्ने भएकाले पूर्वसूचनामा ध्यान दिनसमेत अनुरोध गरिएको छ।
पूर्वानुमानअनुसार बिहीबारदेखि यी नदीहरूमा पानीको सतह बढ्न सुरु हुन सक्नेछ। शुक्रबार नारायणी, कोशी, बागमती, कमला र कन्काई जलाधारका विभिन्न क्षेत्रमा मध्यमदेखि भारी वर्षा हुँदा नदीको बहाव उल्लेख्य रूपमा बढ्न सक्ने अनुमान छ। यस अवधिमा महाकाली, कर्णाली, पश्चिम राप्ती र बबई नदीमा भने तुलनात्मक रूपमा सामान्य वृद्धि हुने आकलन गरिएको छ।
शनिबार प्रमुख नदीहरूमा जलसतह उच्च बिन्दुमा पुग्न सक्ने सम्भावना रहे पनि हालको आकलनअनुसार सतर्कता तह पार गर्ने जोखिम न्यून रहेको महाशाखाले जनाएको छ। कात्तिक १५ गतेदेखि भने कोशी, बागमती र नारायणी जलाधारका केही क्षेत्रमा हल्का वर्षा हुने र जोखिम क्रमशः घट्न सक्ने अनुमान छ।वर्षाका कारण कोशी र नारायणी जलाधारका उच्च हिमाली क्षेत्रमा हिमपात तथा हिमपहिरोको जोखिमसमेत हुन सक्ने बताइएको छ। त्यस्तै, पहाडी तथा चुरे क्षेत्रका साना नदीमा आकस्मिक बाढी आउन र तराईका केही स्थानमा डुबान हुन सक्ने सम्भावना औँल्याइएको छ।
महाशाखाले कात्तिक १२, १३ र १४ गते विशेषगरी पहाडी तथा चुरे क्षेत्रका साना नदी आसपासका बासिन्दालाई सावधानी अपनाउन आग्रह गरेको छ। नदी किनारमा बसोबास गर्ने तथा जोखिमयुक्त क्षेत्रमा यात्रा गर्नेहरूले मौसम र बाढीसम्बन्धी आधिकारिक सूचनालाई निरन्तर ध्यान दिनुपर्नेछ।