काठमाडौं । दशैँमा कानुनअनुसार पाउनुपर्ने चाडपर्व खर्च नपाएको भन्दै ६ सयभन्दा बढी श्रमिकले श्रम तथा व्यवसायजन्य सुरक्षा विभागमा उजुरी दिएका छन्।
विभागका अनुसार दशैँअघि कार्यालयको इमेल र अनलाइन पोर्टलमार्फत ती उजुरी प्राप्त भएका हुन्।श्रम ऐन, २०७४ ले श्रमिकलाई वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ। ऐनअनुसार श्रमिकले आफूले रोजेको चाडपर्वमा खर्च माग गर्न सक्नेछन्। कुनै चाडपर्वका लागि माग नगरेको अवस्थामा भने दशैँमा उक्त रकम उपलब्ध गराउनुपर्ने प्रावधान छ।ऐनको दफा ३७ अनुसार श्रमिकले आफूले खाइपाइ आएको एक महिनाको आधारभूत पारिश्रमिक बराबरको रकम चाडपर्व खर्चका रूपमा पाउनुपर्छ। एक वर्षको सेवा अवधि पूरा नगरेका श्रमिकलाई भने काम गरेको अवधिको अनुपातमा रकम दिनुपर्ने व्यवस्था छ।
विभागका महानिर्देशक चक्रपाणि पाण्डेका अनुसार श्रमिकका गुनासोपछि रोजगारदाता तथा प्रतिष्ठानलाई कानुनी व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिइएको छ। यसका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलाई समेत पत्राचार गरिएको थियो।त्यस्तै, निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले पनि चाडपर्व खर्च पाउनुपर्ने विषयमा प्याब्सन र एनप्याब्सनलाई पत्र पठाएर सम्बन्धित संस्थामा कार्यरत श्रमिकको भुक्तानी सुनिश्चित गर्न भनिएको विभागले जनाएको छ।
विभागको पहलपछि रुपन्देहीस्थित गौतम बुद्ध सामुदायिक मुटु अस्पतालले २४० जना कर्मचारीलाई चाडपर्व खर्चबापत कुल ४२ लाख ५४ हजार रुपैयाँ भुक्तानी गरेको विवरण श्रम तथा रोजगार कार्यालय बुटवलमा बुझाएको छ। कार्यालयले असोज ३० गते रकम उपलब्ध गराउन निर्देशन दिएको थियो। अस्पतालले कात्तिक ९ गते पठाएको जवाफमा असोज २९ गते नै रकम भुक्तानी गरिएको उल्लेख गरेको छ।महानिर्देशक पाण्डेका अनुसार चाडपर्व खर्चबाहेक न्यूनतम पारिश्रमिक नपाएको र नियमित तलब भुक्तानी नभएको गुनासो पनि श्रमिकबाट आउने गरेका छन्। विभागले प्राप्त उजुरी तथा गुनासाका आधारमा सम्बन्धित रोजगारदातासँग समन्वय गर्दै कानुनअनुसार भुक्तानीको व्यवस्था मिलाउन पहल गरिरहेको जनाएको छ।
श्रम ऐनले तोकेको चाडपर्व खर्च उपलब्ध गराउनु रोजगारदाताको कानुनी दायित्व भएकाले यसको कार्यान्वयनमा कडाइ गरिने विभागले जनाएको छ।