काठमाडाैँ । चितवन राइनोजले एनपीएलमा अनुबन्ध गरेका तीन पाकिस्तानी खेलाडीबिना नै मैदानमा उत्रिने भएको छ।
हसन अली, उसामा मिर र मोहम्मद नवाज विराटनगर किंग्सविरुद्धको खेलमा सहभागी नहुने भएका हुन्। उनीहरू चितवनको वार्मअपमा समेत देखिएनन्। पाकिस्तानी खेलाडीहरू खेल्न नपाउनुको कारण पाकिस्तान क्रिकेट बोर्डले तोकेको शुल्क रहेको बताइएको छ। बोर्डले एनपीएलमा सहभागी हुने प्रत्येक पाकिस्तानी खेलाडीका लागि २५ हजार अमेरिकी डलर शुल्क तिर्नुपर्ने सर्त राखेको थियो। त्यसपछि चितवन राइनोज पाकिस्तानी खेलाडीहरूलाई मैदानमा उतार्ने निर्णयबाट पछि हटेको बताइएको छ।
यता, नेपाल क्रिकेट संघका सचिव पारस खड्काले पनि पाकिस्तानी खेलाडीलाई एनपीएलमा सहभागी गराउन पाकिस्तान क्रिकेट बोर्डले तोकेको शुल्क तिर्नैपर्ने बताएका छन्। उनका अनुसार शुल्क तिर्नेबाहेक अर्को विकल्प छैन।यससँगै चितवन राइनोजले आफ्ना तीन पाकिस्तानी खेलाडीबिना नै विराटनगर किंग्सविरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ।