काठमाडाैँ । जलवायु परिवर्तन र समुद्रको बढ्दो तापक्रमका कारण समुद्री पारिस्थितिक प्रणालीमा गम्भीर असर पर्न थालेको छ।
संयुक्त राष्ट्रसंघका प्रकृति विशेषज्ञहरूले शक्तिशाली बन्दै गएको एल निनोले कोरल रिफ अर्थात् समुद्रमा पाइने प्रवाल चट्टानका लागि ठूलो खतरा निम्त्याएको चेतावनी दिएका छन्। समुद्रमा बस्ने साना जीवहरूले लामो समय लगाएर निर्माण गर्ने कोरल रिफ समुद्री जैविक विविधताका लागि निकै महत्त्वपूर्ण मानिन्छन्। तर, समुद्रको तापक्रम निरन्तर बढ्दै जाँदा यी संरचना र तिनमा आश्रित जीवहरूको अस्तित्व नै संकटमा पर्दै गएको वैज्ञानिकहरूले बताएका छन्। सामुद्रिक पारिस्थितिकी विशेषज्ञ तथा जैविक विविधतासम्बन्धी संयुक्त राष्ट्रसंघीय वैज्ञानिक प्यानलका अध्यक्ष डेभिड ओबुराका अनुसार प्रशान्त महासागर क्षेत्रमा विकसित भइरहेको शक्तिशाली एल निनोले तापक्रमप्रति संवेदनशील कोरल प्रजातिलाई लोप हुने अवस्थासम्म पुर्याउन सक्छ।
एल निनो प्राकृतिक जलवायु चक्रको एउटा अवस्था हो, जसले विश्वको तापक्रम बढाउनुका साथै हावा, बादल र मौसमको ढाँचामा समेत परिवर्तन ल्याउँछ। यससँगै समुद्रको तापक्रम बढ्दा कोरलमा ‘ब्लिचिङ’ अर्थात् रङ हराउने र कमजोर हुने समस्या देखिन्छ। यस्तो अवस्था बारम्बार दोहोरिँदा प्रवाल चट्टानको स्वास्थ्यमा गम्भीर असर पर्छ। नेचर जर्नलमा प्रकाशित कोरलको अवस्थासम्बन्धी अध्ययनले पनि जोखिम बढ्दै गएको देखाएको छ। अध्ययनअनुसार सन् २०२० सम्म आइपुग्दा करिब आधा कोरल प्रजाति नै लोप हुने उच्च जोखिममा पुगिसकेका थिए। आगामी एल निनोको प्रभावपछि जोखिममा रहेका प्रजातिको हिस्सा ५० प्रतिशतभन्दा बढी हुन सक्ने अनुमान गरिएको छ।
सन् १९९७–९८ को शक्तिशाली एल निनोले पारेको असर स्मरण गर्दै वैज्ञानिक ओबुराले यसपटकको अवस्था अझ चिन्ताजनक हुन सक्ने बताएका छन्। यसअघि नै विश्वव्यापी रूपमा तीनवटा ब्लीचिङ घटना भइसकेको अवस्थामा अर्को शक्तिशाली एल निनो आउनु कोरल रिफका लागि थप चुनौती भएको उनको भनाइ छ। वैज्ञानिकहरूका अनुसार समुद्री तापक्रम बढ्ने क्रम नरोकिए कोरल रिफको अवस्था झन् बिग्रिन सक्छ। यसले समुद्री जैविक विविधतामा मात्र नभई कोरलमा निर्भर अन्य जीवहरूको अस्तित्वमा समेत असर पार्ने जोखिम छ।