काठमाडौं । युरोप पुग्ने उद्देश्यले समुद्री यात्रा गरिरहेका आप्रवासी सवार डुङ्गा गाम्बियाको तटमा दुर्घटनाग्रस्त हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ।
घटनामा अन्य केही यात्रु बेपत्ता भएका छन्।गाम्बिया रेडक्रस सोसाइटीका अनुसार उद्धारकर्ताहरूले दुर्घटनास्थलबाट १२ जनाको शव फेला पारेका छन्। बेपत्ता यात्रुको सङ्ख्या भने अझै यकिन हुन सकेको छैन। उद्धार कार्य जारी रहेकाले घटनाबारे थप जानकारी आउने अपेक्षा गरिएको संस्थाले जनाएको छ।स्थानीयका अनुसार डुङ्गा एटलान्टिक महासागरको तटमा रहेको जिनाक काजाटा गाउँबाट प्रस्थान गरेको थियो। स्पेनको क्यानरी टापु पुग्ने लक्ष्य राखेका आप्रवासीले यस क्षेत्रलाई समुद्री यात्राको सुरुवाती बिन्दुका रूपमा प्रयोग गर्दै आएका छन्।
पश्चिम अफ्रिकाबाट क्यानरी टापुसम्मको समुद्री मार्ग जोखिमपूर्ण मानिन्छ। समुद्रमा तीव्र बहाव हुनुका साथै पुराना र क्षमताभन्दा बढी यात्रु राखिएका डुङ्गाका कारण यस्ता यात्रामा दुर्घटनाको खतरा उच्च रहने गरेको छ।यसअघि सन् २०२५ को डिसेम्बरमा पनि सोही क्षेत्रबाट छुटेको डुङ्गा दुर्घटनामा ४० जनाभन्दा बढीको मृत्यु भएको र करिब १०० जना बेपत्ता भएको विवरण सार्वजनिक भएको थियो।
मोरक्को, मौरिटानिया र सेनेगलमा समुद्री मार्गबाट हुने अनियमित आवागमन नियन्त्रणका लागि निगरानी बढाइएपछि केही आप्रवासीले पश्चिम अफ्रिकाको दक्षिणी क्षेत्रबाट युरोप पुग्ने कठिन मार्ग रोज्ने गरेका छन्। यसले उनीहरूको समुद्री यात्रा थप लामो र जोखिमपूर्ण बनाएको छ।गरिबी, द्वन्द्व तथा उत्पीडनबाट बच्न सुरक्षित भविष्यको खोजीमा निस्किएका मानिसका लागि स्पेनको क्यानरी टापु युरोप प्रवेश गर्ने प्रमुख मार्गमध्ये एक हो। तर, जोखिमपूर्ण समुद्री यात्राका कारण यस मार्गमा मानवीय क्षति भइरहने गरेको छ।