काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का सांसद खगेन्द्र सुनार दाङबाट काठमाडौं फर्किएका छन्।
पार्टीको निर्देशनपछि उनी मंगलबार नेपालगन्ज हुँदै राजधानी आएका हुन्।रास्वपा दाङका सभापति किरण खनालका अनुसार सुनार दाङमा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका थिए। तर पार्टीबाट काठमाडौं फर्किन निर्देशन आएपछि उनी निर्धारित कार्यक्रममा सहभागी नभई फर्किएको उनले जानकारी दिए।सुनारसँग सम्बन्धित भनिएको एक विवादास्पद अडियो सार्वजनिक भएपछि रास्वपाले उनलाई सांसदको हैसियतमा सार्वजनिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको थियो।
उक्त अडियो प्रकरणलाई लिएर पार्टीभित्र छानबिन प्रक्रिया अघि बढिरहेका बेला सुनारलाई काठमाडौं बोलाइएको हो। अडियोको सत्यता र घटनासम्बन्धी वास्तविकता भने छानबिनबाट स्पष्ट हुन बाँकी छ।