काठमाडौं ।विदेशमा आकर्षक रोजगारी दिलाइदिने आश्वासन दिएर लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।प्रहरीका अनुसार पक्राउ पर्नेमा बागलुङको तमानखोला गाउँपालिका–४ का २२ वर्षीय दीपक श्रीपाली, ललितपुरको महालक्ष्मी नगरपालिका–५ की ३४ वर्षीया नेहा अधिकारी, पाँचथरको याङवरक गाउँपालिका–६ का ४२ वर्षीय सुमन योङहाङ र चन्द्रागिरि नगरपालिका–६ की ४२ वर्षीया सुस्मिता नेपाली रहेका छन्।प्रहरी उपरीक्षक रामेश्वर कार्कीका अनुसार टर्की, बेलायत र दक्षिण कोरिया पठाइदिने भन्दै रकम लिएपछि सम्पर्कविहीन भएको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको हो।
प्रहरीले दिएको विवरणअनुसार दीपकले टर्की पठाउने भन्दै एक व्यक्तिबाट दुई लाख ४८ हजार रुपैयाँ, नेहाले बेलायत पठाउने आश्वासनमा ६७ लाख रुपैयाँ, सुमनले दक्षिण कोरिया पठाइदिने भन्दै छ लाख रुपैयाँ र सुस्मिताले बेलायत पठाउने भन्दै पाँच लाख रुपैयाँ लिएको आरोप छ।चारै जनामाथि गरी कुल ८० लाख ४८ हजार रुपैयाँ ठगी गरेको आरोप लागेको छ। उनीहरूलाई काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ।