काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट जीवनबहादुर शाही सहमहामन्त्री पदमा निर्वाचित भएका छन्।
कर्णाली प्रदेशसभामा कांग्रेस संसदीय दलका नेतासमेत रहेका शाही पिछडिएको क्षेत्रतर्फबाट सहमहामन्त्रीमा विजयी भएका हुन्।कांग्रेस मिडिया सेन्टरले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार शाहीले तीन हजार नौ सय छ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले एक हजार तीन सय ७६ मत पाएका छन्।त्यस्तै, सहमहामन्त्रीका अन्य उम्मेदवार राजन कुँवरले तीन सय २४ र रामबहादुर विष्टले दुई सय ६० मत प्राप्त गरेका छन्। उक्त निर्वाचनमा कुल छ हजार सात सय २९ मत खसेकोमा ३३ मत बदर भएको कांग्रेसको वेबसाइटमा उल्लेख छ।
यद्यपि, केन्द्रीय निर्वाचन समितिले औपचारिक रूपमा अन्तिम नतिजा घोषणा गर्न बाँकी रहेको जनाइएको छ।यसअघि कांग्रेसको १४औँ महाधिवेशनमा पनि शाही पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीका उम्मेदवार बनेका थिए। त्यतिबेला उनी बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए।गत पुसमा भएको विशेष महाधिवेशनमा सहभागी नभएका शाही त्यसपछि देउवा समूहबाट अलग हुँदै पार्टीको मूलधारमा फर्किएका थिए। यसपटकको महाधिवेशनबाट भने उनले सहमहामन्त्री पदमा सफलता हासिल गरेका छन्।