काठमाडौं ।पोखरामा स्कुल बस र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको ज्यान गएको छ भने अन्य दुई जना घाइते भएका छन्।
दुर्घटना मंगलबार पोखरा महानगरपालिका–१० रामबजार क्षेत्रमा भएको हो।प्रहरीका अनुसार रामबजारबाट पावरहाउसतर्फ जाँदै गरेको ग१क ६५१० नम्बरको न्यू लाइट बोर्डिङ स्कुलको बस र विपरीत दिशाबाट आइरहेको ग८प ५१६८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए।दुर्घटनामा मोटरसाइकल चालक पोखरा–३३ तिक्लाङका १९ वर्षीय संगम परियार गम्भीर घाइते भएका थिए। उपचारका लागि पोखरा विश्वविद्यालयको शिक्षण अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
मोटरसाइकलको पछाडि बसेका १८ वर्षीय रिदम ढकाल र १९ वर्षीय सुक्रिम परियार पनि दुर्घटनामा घाइते भएका छन्। उनीहरूको सोही अस्पतालमा उपचार भइरहेको र अवस्था मध्यम रहेको प्रहरीले जानकारी दिएको छ।घटनापछि प्रहरीले बस, मोटरसाइकल र बस चालक ४७ वर्षीय शेरबहादुर गुरुङलाई नियन्त्रणमा लिएको छ। दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।