काठमाडौं ।सुदूरपश्चिम प्रदेशसभाको बैठक मंगलबार साँझ ५ बजे बस्ने भएको छ।
यसअघि तोकिएको समयमा सुरु हुन नसकेको बैठक पुनः निर्धारण गरिएको हो। बैठकमा चालु आर्थिक वर्ष २०८३र८४ को बजेट पारित गर्ने तयारी गरिएको छ।बजेटका विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा भित्र मतभेद बढेपछि कात्तिक १५ गतेभित्र पूरक बजेट ल्याउने सहमति भएको छ।मंगलबार बसेको नेकपाको संसदीय दलको बैठकले अहिले प्रदेशसभामा प्रस्तुत बजेटलाई पारित गर्ने र बजेटमा समेटिन नसकेका विषय तथा विवादमा रहेका योजनालाई सम्बोधन गर्न पूरक बजेट ल्याउने निर्णय गरेको हो।
यसैबीच, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रस्तुत बजेट जनताको हितअनुकूल नभएको भन्दै प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेको छ।प्रदेश सरकारले लामो समयसम्म बजेट नआएको अवस्थालाई अन्त्य गर्दै असोज २५ गते चालु आर्थिक वर्षका लागि ३७ अर्ब ७० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो। आर्थिक वर्ष सुरु भएको लामो समयपछि बजेट प्रस्तुत भए पनि त्यसका विभिन्न विषयलाई लिएर सत्तारूढ दलभित्रै असन्तुष्टि देखिएको थियो।सरकारले मंगलबारको प्रदेशसभा बैठकबाट बजेट पारित गराउने लक्ष्य राखेको छ।