काठमाडौं। उपत्यकाका विभिन्न स्थानबाट चोरी भएर फेला परेका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई फिर्ता गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा सोमबार आयोजित कार्यक्रममा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले असोज महिनामा फेला परेका मोटरसाइकल तथा स्कुटर धनीलाई हस्तान्तरण गरेका हुन्।प्रहरीका अनुसार प्राप्त निवेदन र विभिन्न माध्यमबाट आएका सूचनाका आधारमा खोजी गर्दा ती सवारीसाधन फेला परेका थिए। केही सवारीसाधनमा वास्तविक नम्बर प्लेट र केहीमा नक्कली नम्बर प्लेट प्रयोग गरिएको अवस्थामा भेटिएका थिए।
सवारीसाधन हस्तान्तरण गर्दै एसएसपी काफ्लेले पार्किङ गर्दा सुरक्षित र अरूले देख्न सक्ने स्थान रोज्न आग्रह गरे। साथै, दसैँ–तिहारका बेला मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र जथाभावी पार्किङ नगर्न पनि उनले अनुरोध गरेका छन्।