काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित प्रदीप पौडेलले पार्टीलाई थप सशक्त, गतिशील र एकताबद्ध बनाउने अभियानमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले पार्टीभित्र देखिएका पुराना असमझदारी र तिक्तता बिर्सेर साझा उद्देश्यका साथ अघि बढ्न नेता तथा कार्यकर्तालाई आह्वान गरेका छन्। महामन्त्रीमा निर्वाचित भएपछि सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पौडेलले आफूलाई विश्वास गरेर मत दिने महाधिवेशन प्रतिनिधि, मतदाता तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्। उनीहरूबाट प्राप्त विश्वासलाई आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण शक्ति मान्दै आगामी दिनमा पनि सबैको सुझाव र साथ लिएर अघि बढ्ने उनले बताएका छन्।
महाधिवेशनको निर्वाचन परिणामले पार्टीभित्र एकताको सन्देश दिएको उल्लेख गर्दै पौडेलले आन्तरिक प्रतिस्पर्धालाई लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्नेमा जोड दिएका छन्। निर्वाचनका क्रममा उत्पन्न मतभेदलाई पछाडि छाडेर भावनात्मक रूपमा समेत एकजुट हुँदै बलियो कांग्रेस निर्माणमा जुट्नुपर्ने उनको भनाइ छ। देशले सामना गरिरहेको जटिल परिस्थिति र कांग्रेसको ऐतिहासिक जिम्मेवारीलाई ध्यानमा राख्दै समयअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने आवश्यकता पनि उनले औँल्याएका छन्। जनताका सुख–दुःखमा साथ दिने, जनजीविकाका सवाल उठाउने तथा लोकतान्त्रिक मूल्य र मान्यताको रक्षा गर्ने भरोसायोग्य राजनीतिक शक्तिका रूपमा कांग्रेसलाई स्थापित गर्नु अबको प्राथमिकता हुनुपर्ने पौडेलको धारणा छ। उनले आगामी राजनीतिक यात्रामा पार्टीका नेता, कार्यकर्ता र आम नागरिकको साथ तथा सुझावलाई महत्व दिँदै संगठनलाई थप प्रभावकारी बनाउन आफू समर्पित रहने बताएका छन्। महाधिवेशन सफल बनाउन विभिन्न भूमिकामा रहेर योगदान पुर्याउने सबैप्रति पनि उनले धन्यवाद व्यक्त गरेका छन्।