काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (महिला) र खुला महिला केन्द्रीय सदस्य पदका लागि मतगणना सुरु भएको छ। पार्टीको केन्द्रीय कार्यालय सानेपामा आइतबार दिउँसोदेखि गणना अघि बढाइएको निर्वाचन समितिले जनाएको छ।
खुला महिला केन्द्रीय सदस्यका १५ पदका लागि ३६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै, महिला सहमहामन्त्रीको एक पदका लागि दुई जनाले उम्मेदवारी दिएका छन्। मतगणनालाई व्यवस्थित र मर्यादित रूपमा सम्पन्न गर्न सानेपामा सुरक्षा व्यवस्था कडा पारिएको छ। उम्मेदवारका प्रतिनिधिहरूको उपस्थितिमा मतगणना भइरहेको जनाइएको छ। यसअघि शनिबार रातिदेखि खुला तथा समावेशी उपसभापति र खुला तथा महिला महामन्त्री पदको मतगणना सुरु भएको थियो। ती पदको गणना जारी रहँदा अब महिला सहमहामन्त्री र खुला महिला केन्द्रीय सदस्यको मतपरिणाम पनि आउने क्रम सुरु भएको छ।