काठमाडौं । ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दीपके पारिवारिक शोकका कारण आफ्नो गाउँ फर्किने भएका छन्।
उनकी हजुरआमाको निधन भएपछि परिवारसँगै समय बिताउन गाउँ जान लागेको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन्। शनिबार प्रहरी नियन्त्रणमा लिइएका दीपकेसहित पार्टीका सहसंयोजक सौरव दास र आशुतोष राङ्का आइतबार म्याजिस्ट्रेट अदालतको आदेशपछि रिहा भएका थिए। रिहा भएलगत्तै दीपकेले सामाजिक सञ्जाल एक्समा लेख्दै आफू दुःखको यस घडीमा परिवारसँग रहन गाउँ फर्किन लागेको बताएका छन्।
उनले पार्टीका सहसंयोजक सौरव दास र आशुतोष राङ्काले चाँडै दिल्लीमा पत्रकार सम्मेलन गरी पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आगामी रणनीतिबारे धारणा सार्वजनिक गर्ने पनि उल्लेख गरेका छन्। दीपकेले आफ्नो सन्देशमा सीजेपी आन्दोलनबाट पछि नहट्ने र दबाबसँग नडराउने दाबीसमेत गरेका छन्। उनले अक्टोबर १० लाई आफूहरूले तानाशाहीको अन्त्यतर्फको सुरुआतका रूपमा सम्झिरहने बताएका छन्। प्रहरी हिरासतबाट मुक्त भएपछि पार्टीका नेताहरूले आगामी कार्यक्रम र पछिल्लो घटनाक्रमबारे पत्रकार सम्मेलनमार्फत थप जानकारी दिने जनाएका छन्।