काठमाडौं ।बेलायतका प्रधानमन्त्री एन्डी बर्नहमले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीप्रति आफ्नो समर्थन दोहोर्याएका छन्।
रुसको डिजेल व्यापारमाथि लगाइएका प्रतिबन्ध खुकुलो बनाउने अमेरिकी निर्णयलाई लिएर अमेरिका र युक्रेनबीच मतभेद बढिरहेका बेला बेलायतले युक्रेनको पक्षमा आफ्नो ऐक्यबद्धता व्यक्त गरेको हो।बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटले शनिबार जारी गरेको विज्ञप्तिअनुसार बर्नहम र जेलेन्स्कीबीच टेलिफोन वार्ता भएको थियो। कुराकानीका क्रममा बर्नहमले पछिल्लो २४ घण्टा युक्रेनका लागि कठिन रहेको उल्लेख गर्दै बेलायतको निरन्तर समर्थन रहने बताएका थिए।
बर्नहमले रुसमाथि दबाब कायम राख्न बेलायतले प्रतिबन्ध थप कडा बनाउने प्रयास जारी राख्ने पनि स्पष्ट पारेका छन्। दुवै नेताले आगामी दिनमा छलफललाई निरन्तरता दिन प्रत्यक्ष भेटघाट गर्ने विषयमा समेत सहमति जनाएको विज्ञप्तिमा उल्लेख छ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा नयाँ नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरेको भोलिपल्ट बेलायत र युक्रेनका नेताबीच वार्ता भएको हो। ट्रम्पले जेलेन्स्कीमाथि रुससँग शान्ति सम्झौता गर्न असफल भएको आरोप लगाउँदै अमेरिकामा डिजेलको मूल्य बढ्नुमा पनि उनलाई दोष दिएका थिए।
यसअघि शुक्रबार अमेरिकी प्रशासनले रुसी डिजेल व्यापारमाथिको प्रतिबन्ध खुकुलो पार्ने उपाय घोषणा गरेको थियो। उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै जेलेन्स्कीले रुसलाई पेट्रोलियम पदार्थ बिक्री गर्न सहज बनाउनु युद्धलाई आर्थिक सहयोग गर्नु सरह हुने टिप्पणी गरेका थिए।अमेरिकी निर्णय र बेलायतको पछिल्लो प्रतिबद्धताले रुस–युक्रेन युद्ध, प्रतिबन्ध नीति र पश्चिमी मुलुकबीचको कूटनीतिक सम्बन्धलाई फेरि चर्चामा ल्याएको छ।