काठमाडौं । गोरखाको चुमनुम्ब्री गाउँपालिका क्षेत्रमा पर्ने बूढीगण्डकी नदीमा लेदो र गेग्रानसहितको आकस्मिक बाढी आएपछि नदी आसपासका बस्तीमा जोखिम बढेको छ।
सम्भावित क्षतिलाई ध्यानमा राख्दै सरकारले सिर्दिबासदेखि आरुघाटसम्मका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक डा. धर्मराज उप्रेतीका अनुसार बाढीले सिर्दिबास, जगत, यारी, तातोपानी, माछीखोला, सोती, आरुखेत हुँदै आरुघाटसम्म असर पार्न सक्ने सम्भावना छ। ती क्षेत्रका बासिन्दालाई नदीको बहावप्रति सचेत रहन र आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
बाढीको जोखिमबारे जानकारी गराउन जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले तटीय क्षेत्रका बासिन्दालाई मोबाइल सन्देशसमेत पठाएको छ। महाशाखाका बाढीविज्ञ विनोद पराजुलीका अनुसार बाढी आरुघाटसम्म पुग्न करिब तीन घण्टा लाग्न सक्ने अनुमान गरिएको छ। सोही सम्भावनालाई मध्यनजर गर्दै आरुघाट क्षेत्रसम्मका बासिन्दालाई सतर्क रहन सूचित गरिएको हो।
प्रारम्भिक विवरणअनुसार चुमनुम्ब्री गाउँपालिका–६ को चुम्चेत क्षेत्रबाट स्थानीय खोलामा आएको बाढी बूढीगण्डकी नदीमा मिसिएको हो। मनास्लु हिमालको पूर्वी मोहोडाबाट बग्ने बूढीगण्डकीमा एक्कासि बाढी आउनुको वास्तविक कारण भने अझै खुल्न सकेको छैन। माथिल्लो क्षेत्रमा वर्षा भएको अभिलेख नदेखिएकाले कतै पहिरोका कारण खोलाको बहाव रोकिएर पछि अवरोध हट्दा एक्कासि बाढी आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको प्राधिकरणले जनाएको छ। यद्यपि, यसको आधिकारिक पुष्टि हुन बाँकी छ। सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी किनारमा रहेका बासिन्दालाई सुरक्षित स्थानमा जान, नदीको बहाव हेर्न किनारमा नजान तथा स्थानीय प्रशासन र सुरक्षा निकायबाट जारी हुने सूचनाको पालना गर्न आग्रह गरिएको छ।