काठमाडौं । नेपाली कांग्रेसको नयाँ केन्द्रीय समिति चयनका लागि भइरहेको मतदान निर्धारित समयभन्दा लामो समयसम्म पनि जारी रहेपछि सभापति पदको मतगणना अनिश्चित बनेको छ। शुक्रबार राति साढे ९ बजेसम्म पनि मतदान प्रक्रिया सम्पन्न हुन सकेको थिएन।
मतदान बिहानैदेखि सुरु भएको थियो। सुरुमा दिउँसो ३ बजेसम्मका लागि समय निर्धारण गरिएकोमा मतदान नसकिएपछि समय थप गरी साँझ ५ बजेसम्म पुर्याइएको थियो। त्यस अवधिमा पनि मतदान सम्पन्न हुन नसकेपछि पुनः साँझ ७ बजेसम्म समय बढाइएको थियो। तर, थपिएको समयसीमासमेत पार हुँदा मतदान प्रक्रिया लम्बिएको हो। राति अबेरसम्म मतदान जारी रहेपछि सभापति पदको मतगणना कहिले सुरु हुने भन्ने विषयमा अन्योल उत्पन्न भएको छ।
निर्वाचन समितिका संयोजक तथा वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले मतदान जारी रहेकाले मतगणनाको समय निश्चित गर्न नसकिएको बताएका छन्। उनका अनुसार सभापति पदको मतगणना शुक्रबार राति नै गर्ने तयारी भए पनि मतदान सम्पन्न भएपछि पूरा गर्नुपर्ने प्रक्रियाका कारण समय तोक्न कठिन भएको छ। मतदान लम्बिएसँगै कांग्रेसको नयाँ नेतृत्व चयनका लागि हुने मतगणनाको समयसमेत प्रभावित भएको छ। अब मतदान प्रक्रिया कहिले सकिन्छ र मतगणना कति बेला सुरु हुन्छ भन्ने विषयमा निर्वाचन समितिको निर्णय प्रतीक्षा गरिएको छ।