काठमाडौं । चाडपर्वका बेला खाना पकाउने ग्यासको सिलिन्डर साट्न भोग्नुपरेको समस्या कम गर्न काठमाडौं उपत्यकामा विशेष व्यवस्था लागू गरिने भएको छ।
आगामी आइतबार असोज २५ गतेदेखि उपभोक्ताले फरक–फरक ब्रान्डका खाली सिलिन्डर साटेर ग्यास लिन सक्नेछन्।नेपाल एलपी ग्यास उद्योग सङ्घले नेपाल आयल निगम र ग्यास विक्रेता महासङ्घसँगको समन्वयमा असोज २५ देखि ३१ गतेसम्म उपत्यकाका छ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेरको व्यवस्था मिलाएको जनाएको छ।सङ्घका अनुसार तोकिएका केन्द्रमा हरेक दिन बिहान ९ः३० बजेदेखि अपराह्न ४ः३० बजेसम्म सेवा उपलब्ध हुनेछ। चाडपर्वका समयमा आफ्नो ब्रान्डको सिलिन्डर नपाउँदा अर्को ब्रान्डको सिलिन्डर साट्न नपाएर उपभोक्ताले समस्या भोग्नुपरेको गुनासोपछि यस्तो व्यवस्था गरिएको हो।
सङ्घले भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात नियमित भइरहेको र गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको जानकारी दिएको छ। ग्यासको आपूर्ति सहज रहे पनि सिलिन्डर साटफेरमा देखिएको कठिनाइ हटाउन विशेष सेवा सञ्चालन गर्न लागिएको अध्यक्ष दिवान चन्दले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
सिलिन्डर साटफेर तथा ग्यास पाइने केन्द्र
१. सिफलचौर, काठमाडौं: एभरेस्ट र सुगम ग्यास
सम्पर्क: ९८०१०९१२७७
२. पेप्सीकोला, काठमाडौं: सगर ग्यास
सम्पर्क: ०१–५१५६२७४
३. बालाजु औद्योगिक क्षेत्रको गेटअगाडि, काठमाडौं: नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास
सम्पर्क: ९८०२९५०४१७
४. सुकेधारा, काठमाडौं: बाबा र श्री ग्यास
सम्पर्क: ९८५१११३७०४
५. कलङ्की, काठमाडौं: साईबाबा र श्रीकृष्ण ग्यास
सम्पर्क: ९८५१०६०१९२
६. हरिसिद्धि, ललितपुर: श्रीराम ग्यास
सम्पर्क: ९८५११३७७३२
उपभोक्ताले तोकिएका केन्द्रमा सम्पर्क गरेर आफूलाई आवश्यक पर्ने ग्यासको उपलब्धता बुझ्न सक्नेछन्।