काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणको मिति टुङ्गो लाग्न बाँकी रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले भ्रमणको तयारी भइरहेको भए पनि मिति भने निश्चित भइनसकेको जानकारी दिएका हुन्।उनका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणका लागि नेपाल र भारत दुवै पक्षलाई उपयुक्त हुने समयको खोजी भइरहेको छ। भ्रमणको तयारी तथा आवश्यक समन्वयका काम परराष्ट्र मन्त्रालयले अघि बढाइरहेको उनले बताए।
सम्भावित भ्रमणका क्रममा नेपाल र भारतबीच आपसी हित, द्विपक्षीय सम्बन्ध तथा सहकार्यका विभिन्न विषयमा छलफल गर्ने गरी कार्यसूची तयार पार्ने कामसमेत भइरहेको मन्त्रालयले जनाएको छ।प्रवक्ता क्षेत्रीका अनुसार प्रधानमन्त्रीको भ्रमणको मिति तय भएपछि मन्त्रालयले औपचारिक रूपमा जानकारी गराउनेछ। यसबाहेक अन्य उच्चस्तरीय भ्रमणको तयारी र कार्यसूची निर्माणमा पनि मन्त्रालयले काम गरिरहेको उनले बताए।