काठमाडौं ।नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न भइरहेको मतदानको समय दुई घण्टा बढाइएको छ।
यसअघि साँझ ५ बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएकामा अब साँझ ७ बजेसम्म मतदान गर्न पाइने भएको हो।कांग्रेस नीति तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सुरेश आचार्यका अनुसार मतदानस्थलमा प्रतिनिधिहरूको लामो लाइन रहेकाले समय थप गरिएको हो। बिहान ७ बजेदेखि सुरु भएको मतदानमा महाधिवेशन प्रतिनिधिहरू सहभागी भइरहेका छन्।महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व छान्न ७ हजार ३१७ जना प्रतिनिधिले मताधिकार प्रयोग गर्दैछन्। सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्यलगायत पदका लागि २३ वटा क्लस्टरमा मतदान गर्नुपर्ने भएकाले प्रक्रिया लामो भएको हो।मतदानको समय थपिएसँगै बाँकी रहेका प्रतिनिधिलाई पनि आफ्नो मताधिकार प्रयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।