काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन बोल्डिनबीच नेपाल प्रहरी प्रधान कार्यालयमा भेटवार्ता भएको छ।
भेटमा विपद्का कारण प्रभावित नागरिकको खोजी, उद्धार तथा पहिचानमा सहयोग गर्ने विषयमा छलफल भएको छ। भेटका क्रममा कार्यवाहक राजदूत बोल्डिनले विपद्का कारण बेपत्ता भएका अमेरिकी नागरिकसहित अन्य प्रभावित व्यक्तिको खोजी, उद्धार र पहिचानमा नेपाल प्रहरीले गरेको प्रयासको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेकी छन्।
उनले विपद्बाट प्रभावित अमेरिकी नागरिक तथा नेपाली समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउने अमेरिकी प्रतिबद्धता पनि दोहोर्याएकी छन्। त्यस अवसरमा बोल्डिनले विपद् व्यवस्थापनमा प्रयोग हुने उपकरण, पीडितको पहिचानका लागि आवश्यक प्राविधिक सहायता तथा डीएनए परीक्षण प्रक्रियालाई छिटो र प्रभावकारी बनाउन आवश्यक सामग्री उपलब्ध गराउने विषयमा जानकारी गराएकी थिइन्।