काठमाडौं ।मोरङको सुन्दरहरैंचामा धार्मिक तालिम तथा कार्यक्रममा सहभागी हुन आएका २४ जना दक्षिण कोरियाली नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
उनीहरू पर्यटक भिसामा नेपाल आएर धार्मिक गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका हुन्।सुन्दरहरैंचा नगरपालिका–७ स्थित मालती मार्गमा रहेको नेपाल न्यु कोभेनन्ट कलेजले आयोजना गरेको कार्यक्रममा सहभागी हुन उनीहरू असोज २० र २१ गते काठमाडौं हुँदै विराटनगर पुगेका थिए। उनीहरू अक्टोबर १२ सम्म मोरङमै रहने योजना रहेको बताइएको छ।लभ नेपाल मिसनको सहयोगमा सञ्चालित उक्त कलेजमा धर्मशास्त्रसम्बन्धी अध्ययन तथा अध्यापन हुँदै आएको छ। कलेजले प्रमाणपत्र तहदेखि विद्यावारिधिसम्मको धार्मिक शिक्षा प्रदान गर्ने जनाएको छ।
प्रहरीका अनुसार पर्यटक भिसामा आएका विदेशी नागरिकले धार्मिक शिक्षा, तालिम तथा धर्म प्रचारसम्बन्धी गतिविधिमा सहभागी हुन नपाउने कानुनी व्यवस्थाका कारण उनीहरूलाई नियन्त्रणमा लिइएको हो। पक्राउ परेका नागरिकलाई थप प्रक्रिया अघि बढाउन अध्यागमन विभागको जिम्मा लगाउने तयारी गरिएको स्रोतले जनाएको छ।यस घटनाबारे सम्बन्धित निकायबाट थप विवरण सार्वजनिक हुन बाँकी छ।