काठमाडौं ।गानी बोर्ड नेपालले करिब १०५ मेगावाट विद्युत् उत्पादन क्षमता भएका दुई अर्धजलाशययुक्त जलविद्युत् आयोजनामा लगानी स्वीकृत गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार बसेको बोर्डको ६८औँ बैठकले नार खोला जलविद्युत् आयोजना र सानी भेरी–३ जलविद्युत् आयोजनामा लगानी स्वीकृत गर्ने निर्णय गरेको हो।बैठकले ५८.९ मेगावाट क्षमताको नार खोला आयोजनाका लागि १० अर्ब ७५ करोड ४ लाख ९७ हजार रुपैयाँ तथा ४६.७२ मेगावाट क्षमताको सानी भेरी–३ आयोजनाका लागि १० अर्ब ४२ करोड ३३ लाख ६२ हजार रुपैयाँ लगानी स्वीकृत गरेको छ। दुवै आयोजनाको कुल लागत २१ अर्ब रुपैयाँभन्दा बढी छ।
यसैगरी, ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत् आयोजनाले सन् २०२८ फेब्रुअरीसम्म व्यावसायिक रूपमा विद्युत् उत्पादन सुरु गर्ने विषयमा बैठकले निर्णय गरेको छ। त्यस्तै, ९०० मेगावाट क्षमताको माथिल्लो कर्णाली आयोजनाको निर्माण कार्य अघि बढाउन परियोजना विकास सम्झौताअनुसार आवश्यक सहजीकरण गर्ने निर्णय पनि गरिएको छ।
स्वीकृत आयोजनाहरू कार्यान्वयन गर्न तथा लगानीकर्तालाई उपलब्ध गराइने सेवा प्रभावकारी बनाउन लगानी बोर्डको कार्यालयका प्रमुख कार्यकारी अधिकृतलाई आवश्यक अधिकार दिने निर्णय बैठकले गरेको छ।बोर्डले आफैँले प्रस्ताव आह्वान नगरेका परियोजनालाई आवश्यकताअनुसार स्वीस च्यालेन्ज विधिबाट प्रतिस्पर्धा गराएर अघि बढाउन आवश्यक कानुनी व्यवस्था गर्नसमेत कार्यालयलाई निर्देशन दिएको छ।
त्यसैगरी, कृत्रिम बुद्धिमत्ता एआई लगायत आधुनिक सूचना प्रविधिमा आधारित पूर्वाधार परियोजनामा लगानी प्रस्ताव आएमा नवीकरणीय ऊर्जाको उपयोग, रोजगारी सिर्जना र मुलुकको आर्थिक विकासमा पुग्ने योगदानलाई आधार मानेर त्यस्ता परियोजनालाई प्राथमिकता दिने निर्णय गरिएको छ।