काठमाडौं । उखु खेतीमा संलग्न किसानलाई प्रोत्साहन गर्न सरकारले डेढ अर्ब रुपैयाँभन्दा बढी अनुदान वितरण गर्ने भएको छ।
कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले अनुदान उपलब्ध गराउनेसम्बन्धी कार्यविधि स्वीकृत गरेसँगै किसानलाई रकम उपलब्ध गराउने प्रक्रिया अघि बढेको हो। मन्त्री चौधरीको निजी सचिवालयका अनुसार उखु उत्पादक किसानलाई प्रोत्साहनस्वरूप अनुदान उपलब्ध गराउन आवश्यक कार्यविधि स्वीकृत गरिएको छ। मन्त्रालयका अनुसार आर्थिक वर्ष २०८३/८४ मा अनुदानका लागि १ अर्ब ५० करोड ५० हजार रुपैयाँ निकासा भएको छ। उक्त रकम बर्दिया, रौतहट, कैलाली, कञ्चनपुरलगायत विभिन्न जिल्लाका उखु किसानलाई वितरण गरिनेछ।
सरकारले उखु खेतीलाई प्रोत्साहन गर्ने, कृषि उत्पादन बढाउने र किसानलाई उपलब्ध गराइने अनुदान लक्षित वर्गसम्म पुर्याउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गर्दै आएको छ। कृषि विभागमार्फत उखु उत्पादक किसानलाई प्रोत्साहन अनुदान वितरण गर्ने व्यवस्था छ। यसअघि सरकारले आर्थिक वर्ष २०८२/८३ मा उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान उपलब्ध गराएको थियो। त्यसको अघिल्लो वर्ष भने किसानले प्रतिक्विन्टल ३५ रुपैयाँका दरले अनुदान पाएका थिए। उखु खेतीको लागत बढिरहेको अवस्थामा सरकारले उपलब्ध गराउने अनुदानले किसानलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।