काठमाडौं । सरकारले अन्तरप्रदेशमा सञ्चालन हुने विद्युतीय सार्वजनिक सवारीसाधनको भाडादर परिमार्जन गरेको छ।
यातायात व्यवस्था विभागले छोटो, मध्यम तथा लामो दूरीका यात्रुवाहक र मालवाहक सवारीको नयाँ भाडादर सार्वजनिक गरेको हो। विभागका अनुसार तराई र पहाडी क्षेत्रमा सञ्चालन हुने सवारीको दूरी तथा सडकको अवस्थाका आधारमा प्रतिकिलोमिटर भाडा निर्धारण गरिएको छ। तराई क्षेत्रमा २५० किलोमिटरभन्दा लामो दूरीमा पक्की तथा ग्राभेल सडकका लागि प्रतियात्रु प्रतिकिलोमिटर २ रुपैयाँ ९३ पैसा तोकिएको छ। त्यस्तै, २५ देखि २५० किलोमिटरसम्मको दूरीमा प्रतिकिलोमिटर ३ रुपैयाँ भाडा कायम गरिएको छ। काठमाडौँ–पोखरा र पोखरा–नारायणगढ सडकखण्डमा भने प्रतियात्रु प्रतिकिलोमिटर ३ रुपैयाँ २४ पैसा निर्धारण गरिएको विभागले जनाएको छ।
डिलक्स र सुपर डिलक्समा थप भाडा लिन पाइने
विभागबाट डिलक्स सुविधा प्रमाणित भएका सवारीले सामान्य भाडादरमा २० प्रतिशत थप रकम लिन पाउनेछन्। सुपर डिलक्स सेवा दिने सवारीले डिलक्सको भाडादरमा थप २० प्रतिशत जोडेर भाडा लिन सक्ने व्यवस्था गरिएको छ।
विद्यार्थी, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई सहुलियत
नयाँ व्यवस्थाअनुसार विद्यार्थी, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई तोकिएको सहुलियत अनिवार्य रूपमा उपलब्ध गराउनुपर्नेछ। सहुलियत प्रदान गर्दा निश्चित रुट, कोटा वा दिनको सीमा तोक्न नपाइने व्यवस्था छ। छुट लिन यात्रुले सक्कल परिचयपत्र देखाउनुपर्नेछ। त्यसैगरी, लामो दूरीमा रातिको समयमा सञ्चालन हुने बसमा दुई जना चालक अनिवार्य राख्नुपर्नेछ। चालक तथा सहचालकले परिचयपत्र वा तोकिएको पोसाक लगाउनुपर्ने व्यवस्था पनि गरिएको छ।
तोकिएभन्दा बढी भाडा लिए उजुरी गर्न सकिने
यात्रुसँग निर्धारित दरभन्दा बढी भाडा असुल गरे कारबाही गरिने विभागले चेतावनी दिएको छ। बढी भाडा लिएको अवस्थामा यात्रुले हेलो सरकारको टोल फ्री नम्बर ११११ वा ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गरी उजुरी गर्न सक्नेछन्। यात्रुवाहक सवारीसँगै मालवाहक ट्रकको भाडादर पनि समायोजन गरिएको छ। तराई क्षेत्रमा प्रतिकिलोमिटर प्रतिटन ७ रुपैयाँ ७२ पैसा र पहाडी क्षेत्रमा १४ रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ। विभागले १० टन क्षमतालाई आधार मानेर विभिन्न रुटको भाडासमेत सार्वजनिक गरेको छ। निर्धारित दरअनुसार वीरगञ्ज–काठमाडौं पहाडी सडकखण्डमा ट्रकको भाडा ३१ हजार ४४६ रुपैयाँ र भैरहवा–काठमाडौं रुटमा ३२ हजार १४१ रुपैयाँ तोकिएको छ।