काठमाडौं । सरकारले भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि कार्यान्वयनको अवस्था मूल्याङ्कन गर्न अनुगमन प्रक्रिया अघि बढाएको छ।
यस क्रममा दोलखा र रामेछाप जिल्लामा अनुगमन सम्पन्न भएको सरकारले जनाएको छ। अब क्रमशः अन्य जिल्लामा पनि निरीक्षण तथा अनुगमन गरिने तयारी छ। शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा कार्यालयका सहसचिव एवं प्रवक्ता हेमराज अर्यालले महासन्धि कार्यान्वयनको अवस्थाबारे जानकारी दिएका हुन्। उनका अनुसार अनुगमनबाट प्राप्त अवस्थालाई आधार बनाएर विभिन्न जिल्लामा कार्यान्वयनको स्थिति हेरिनेछ। यसैगरी सरकारले धनकुटा, सुनसरी र मोरङका कारागार तथा हिरासतमा रहेका कैदीबन्दी र थुनुवाको मानव अधिकारको अवस्थाबारे पनि अनुगमन गरेको छ। कैदीबन्दीको अधिकार संरक्षण र सुनिश्चितताका लागि सम्बन्धित निकायलाई आवश्यक ध्यान दिन आग्रह गरिएको प्रवक्ता अर्यालले बताए।
सरकारले सिंहदरबार परिसरलाई स्वच्छ र व्यवस्थित बनाउने उद्देश्यले असोज २२ देखि २८ गतेसम्म ‘सरसफाइ सप्ताह’ अभियानसमेत सञ्चालन गरेको छ। अभियान प्रभावकारी बनाउन प्रत्येक मन्त्रालयमा एक जना सम्पर्क व्यक्ति (फोकल पर्सन) तोकिएको छ। सरसफाइ अभियानको नियमित अनुगमन तथा निरीक्षण गरी त्यससम्बन्धी विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाउने व्यवस्था मिलाइएको प्रवक्ता अर्यालले जानकारी दिए। त्यसैगरी नागरिकका गुनासालाई प्रभावकारी रूपमा सम्बोधन गर्न पनि सरकारले आवश्यक काम अघि बढाइरहेको उनले बताए।